सूचनाको शक्ति - The Power Of Information

        

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘बलि’ चढाउन शुरु

बाँके ।  हिन्दुहरुको महानपर्व बडादसैँ भित्रिएसँगै पश्चिम नेपालका प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘बलि’ चढाउन शुरु गरिएको छ ।

मन्दिरका कार्यालय प्रमुख राजु केसीका अनुसार बिहीवार बिहान नवदुर्गा पुजाको सुरुवात पश्चात मन्दिरका तर्फबाट बोकाको एउटा बलि चढाइएको छ । देवी देवतालाई पशुपंक्षीको भोग दिइनुलाई बलि भन्ने प्रचलन छ ।

पहिलो दिन भएकाले छिटपुट रुपमा सर्बसाधारणहरु बोका लिएर बलि चढाउन आएका थिए । बलि दिने कार्य एकादशी र औसीको दिन बाहेक अन्य समयमा चलिरहने केसीले बताए ।

बलि चढाउनका लागि बाँके लगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट ठुलो संख्यामा सर्बसाधारण आउँछन् । बलि चढाएर उनीहरु भाकल पनि गरेर फर्किन्छन् । अहिले पनि कोरोना महामारी पूर्ण रुपले नियन्त्रणमा आएको छैन ।

यसले गर्दा यसपटक पनि अपेक्षा गरेको भन्दा कम मात्रामा बलि चढ्न सक्ने मन्दिर ब्यवस्थापन पक्षको अनुमान छ । गतवर्ष पनि कोरोना महामारीका कारण कम मात्रा बलि चढाइएको थियो ।

यसवर्ष पुजापाठ गर्नका लागि विगत तीन दिनदेखि मात्र मन्दिर पूर्णरुपले खुल्ला गरिएको छ । यसअघि सर्बसाधारणहरु बाहिरैबाट मन्दिर दर्शन गरेर फर्किने गरेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १७:४३