सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिँदै बाघका झुण्ड, राजमार्ग असुरक्षित

फाइल तस्वीर

बाँके । बाँकेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत विभिन्न ठाउँमा बाघको झुण्ड बारम्बार देखिँदा राजमार्ग क्षेत्र नै असुरक्षित बन्दै गएको छ । असोजको सुरुबाटै जिल्लाको गाभर क्षेत्रमा पटक–पटक देखिएका पाटेबाघ अहिले बाँके र दाङको सिमानामा पर्ने अमिलिया नजिक राजमार्गमै देखिएका छन् ।

राजमार्गमा जताततै बाघ भेटिन थालेपछि उक्त राजमार्ग भएर यात्रा गर्न निकै चुनौतीपूर्ण बन्दै गएको सवारी चालकहरू बताउँछन् । बाघका कारण राजमार्ग असुरक्षित बनेपछि बाँके राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको कुसुमदेखि अमिलियासम्म दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधनलाई रातिको समयमा आवागमनमा रोक लगाएको छ ।

दिउँसै बाघ देखिन थालेपछि सो क्षेत्रमा यात्रा गर्न पनि समस्या भएको काठमाडांँैबाट नेपालगञ्ज आइरहेको यात्रुवाहक बसका चालक दीपक थापाले बताए । उनले राजमार्गमा बाघको समूह देखिएको स्थानीयले जानकारी गराएपछि सवारी चालकहरुले सावधानीपूर्वक गाडी चलाएको पनि बताए ।

दिनहुँजसो राजमार्ग वरिपरि बाघ देखिने गरेको जानकारी आएपछि कोहलपुरबाटै सवारीलाई सम्झाइबुझाई गरी पठाउन थालिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले बाघका कारण बाँकेको पूर्वपश्चिम राजमार्गको कुसुमदेखि अमिलियासम्मको यात्रा निकै जोखिमपूर्ण रहेको बताए ।

उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत नगर्न निकुञ्जले दुई सातादेखि अनुरोध गर्दै आएको छ । बाँकेको गाभर नजिकै गत भदौ २७ गते बेलुका सडकबाट तानेर एक ४५ वर्षीय भारतीय पुरुषलाई दुईवटा पाटेबाघले खाएपछि त्यसयता सो क्षेत्रमा दिनहुँजसो धेरै सङ्ख्यामा बाघ देखा परिरहेका छन् ।

गत शनिबार मात्रै भैँसी र बाख्रा लिएर चराउन गएका बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभर निवासी सेतु ओली, हीरा खड्का र कालिका खड्कालाई पाटेबाघले घेरा हालेको थियो । पूर्वपश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा पाटेबाघले भैँसी र बाख्रा चराउन गएका उनीहरूलाई घेरेपछि आफ्नो ज्यान जोगाउन उनीहरू रुखमा चढेका थिए ।

डेढ घण्टापछि दुईवटा हात्ती प्रयोग गरी निकुञ्जको टिमले उनीहरूको सकुशल उद्धार गर्न सफल बनेको थियो । बाँकेमा बाघले मान्छे खाएको तीन साता पुग्दासमेत बाघ नियन्त्रणमा नआएपछि जिल्लाको गाभर, चपरगौढी, कुसुम, सौँरीगाउँका बासिन्दा त्रसित छन् । बाँके राष्ट्रिय निकुञ्जले भने बाघ नियन्त्रणमा लिने वा सो क्षेत्रबाट भित्र जङ्गलमा धपाउने प्रयास निरन्तर गरिरहेको जनाइएको छ । निकुञ्जका प्रमुख श्याम शाहले हात्ती, सेना र प्राविधिक खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १२:५०