सूचनाको शक्ति - The Power Of Information

        

स्मार्ट लाइसेन्सको नयाँ आवेदन दशैँपछि खुला

काठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ । यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सकारको तयारी नपुगेपछि दशैँपछि खुला गर्ने तयारी भएको जानकारी दिए ।

गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो । यसबीचमा प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो । कोरोना माहामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । विभागमा सात लाख प्रति लाइसेन्स छपाइ गर्न बाँकी छ ।

सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् । कार्ड अभाव भएपछि छपाइको काम रोकिएको छ । उनले भने, ‘कार्ड आउन कम्तीमा एक महिना लाग्छ । डेलिभरी अर्डर भइसकेको छ । तिहारसम्ममा आइसक्नेछ । त्यसपछि मात्र छपाइको काम हुनेछ ।’ उनका अनुसार फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदैछ ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम बाँकी रहँदै आएको छ । यस्तै विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको र नयाँ मन्त्री नियुक्त भएपछि राजपत्रमा प्रकाशनको पहल हुने विभागले जनाएको छ ।

सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागू गरिएको छ । गत २०७७ साउन १ बाट पुनः नियमित गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिको हो । विभागले २०७४ भदौ ५ बाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १२:४१