सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

दशैँलगत्तै कर्णालीमा सरकार परिवर्तन, जीवनबहादुर नयाँ मुख्यमन्त्री !

सुर्खेत । कर्णाली प्रदेशमा दशैँलगत्तै मुख्यमन्त्री परिवर्तनको विषयले चर्चा पाइरहेको छ । नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने र नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री विषयमा निकै चर्चा परिचर्चा चलिरहेको छ ।

दशैँलगत्तै कर्णालीमा मुख्यमन्त्री परिवर्तन हुन सक्ने नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एंव मुख्यमन्त्रीका आकांक्षी जीवनबहादुर शाहीले जानकारी दिए । ‘जिल्ला अधिवेशनका लागि हुम्लामा आएको छु,’ मुख्यमन्त्री परिवर्तनका विषयमा शाहीले भने, ‘त्यो कात्तिकको पाँच गते टुंगिनुपर्ने हो, तर १० गतेसम्म जान सक्छ ।’

गत वैशाखमा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि पद जोगिएको थियो । उतिबेला दुवै शाहीबीच ६ महिनापछि मुख्यमन्त्रीको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो । कांग्रेस नेता शाहीले मुख्यमन्त्रीबीच भएको सहमति पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका कर्णाली संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले वैशाखको सम्झौताबारे मुख्यमन्त्री र कांग्रेस संसदीय दलका नेता नै बढी जानकार छन् । ‘वैशाखमा भएको सहमतिअनुसार मुख्यमन्त्री परिवर्तन हुन सक्ला,’ उनी भन्छन्, ‘तर सबै प्रदेशमा भागबण्डा लगाउँदा कर्णालीमा पुरानै नेतृत्वलाई निरन्तरता दिने काम पनि हुन सक्छ ।’

संघमा जस्तै कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीचको सहमति बन्दा मुख्यमन्त्री परिवर्तन नहुने संकेत पनि देखिएको उनले बताए । ‘मुख्यमन्त्री परिवर्तनका विषयमा कुनै छलफल त भएको छैन,’ विष्ट भन्छन्, ‘संघकै राजनीतिक प्रभाव भएमा देशभर दुई–दुईवटा भाग जाने हो त्यो हुँदा कर्णालीमा पुरानै निरन्तर पनि हुन सक्छ ।’ विष्टका अनुसार अबको एक दुई महिनाभित्रमै मुख्यमन्त्री परिवर्तनको विषयमा छिनोफानो हुने सम्भावना छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १८:०५