सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

मन्त्रालय भागबण्डामा गठबन्धनबीच सहमति, अब होला त मन्त्रिपरिषद् विस्तार ?

मन्त्रिपरिषद् विस्तारको तयारी, नेपादी कांग्रेस ६, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई ५/५ मन्त्रालयमा सहमति बनेको छ ।

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनमा मन्त्रालय बाँडफाँडको सहमति बनेको छ । बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलबाट मन्त्रालय बाँडफाँडको टुंगो लागेको हो । बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले मन्त्रालयको भागबण्डा मिलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

‘उहाँहरूबीच मन्त्रालयबारे सहमति भइरहेको छ । अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ उनले भने । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

सहमतिअनुसार कांग्रेस ६, माओवादी नेकपा एस र जसपाले ५÷५ मन्त्रालय पाउने भएका छन् । कांग्रेसबाट अहिलेसम्म गृह मन्त्रालय बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का र कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य मन्त्रालयमा उमेश श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।

यता माओवादी केन्द्रका तर्फबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा र ऊर्जा मन्त्रालय पम्फा भूसालले नेतृत्व गरिरहेका छन् । अब भुमि व्यवस्था सहकारी, खानेपानी, कृषि मन्त्रालय लिने छ । गठबन्धनमा रहेका सबैको नेताहरूबीच शक्तिशाली र स्रोत बढी परिचालन गर्न पाउने मन्त्रालयमा दाबी रहेपछि कुरा मिल्न सकेको थिएन ।

यस बीचमा नेपाली कांग्रेस र माओवादीका तर्फबाट मात्र मन्त्री भएका थिए । कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय, एकीकृत (समाजवादी)ले रक्षा, पर्यटन तथा नागरिक, उद्योग बाणिज्य आपूर्ति, शहरी विकास र युवा तथा खेलकुद लिने भएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, संघीय मामिला, वन र श्रम मन्त्रालय पाउने सहमति बनेको छ । गठबन्धनका तर्फबाट असार २९ गते नियुक्त भएका प्रधानमन्त्री देउवाले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:३२