सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय, भर्ना गराउन हम्मेहम्मे

दार्चुला । पछिल्लो समय खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ ।

जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन् बढेको बढ्यै छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत सो विद्यालयलाई छनोट गरेको छ । सदरमुकाम खलङ्गामै दर्जनौँ संस्थागत तथा सामुदायिक विद्यालय भए पनि नमूना माविमा भर्ना गर्नसके अभिभावक पनि खुसी हुन्छन् ।

सामुदायिक विद्यालय भए पनि विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ । विद्यालयले २०७४ सालदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको हो । संस्थागत विद्यालयकै जस्तै विद्यार्थी आकर्षण गर्ने टाइसहितको पोशाक र शैक्षिक विकास गर्ने अन्य गतिविधि यो विद्यालयले गर्ने गर्छ ।

अङ्ग्रेजी माध्यमबाटै पढाइ सुरु गरेपछि विद्यार्थीको भीड नै लागेको छ । चालु शैक्षिक सत्रमा विद्यालयमा आधारभूत तहमा २५८, कक्षा ६ देखि कक्षा ८ सम्म ६१७, कक्षा ९ देखि कक्षा १० सम्म ५९३ र कक्षा ११ र १२ मा ७८१ भर्ना भएका छन् । यसैगरी विद्यालयले २०७५ बाट सुरुआत गरेको डिप्लोमा इन सिभिल इञ्जिनीयरिङतर्फ १०४ गरी दुई हजार ४४७ विद्यार्थी भर्ना भइसकेका छन् ।

‘अझै पोष्ट डिप्लोमा अन्तर्गत भर्ना प्रक्रिया चलिरहेको छ । विद्यार्थीको चाप बढ्दै गएको छ,’ विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भने, ‘सरकारी दरबन्दी विद्यालयमा न्यून छ । हामीसँग १८ शिक्षक र सात कर्मचारीमात्रै सरकारी दरबन्दीका छन् । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि हरेक कक्षामा सेक्सन बनाएर चलाउनुपरेको छ । विद्यालयमा ६८ शिक्षक कार्यरत रहेका छन् ।’

विद्यालयका अनुसार कक्षा ११ र १२ मा सात/सात सेक्सनमा पढाइ सुरु गरिएको छ । कक्षा १० मा पाँच, कक्षा ९ मा ६, कक्षा ८ मा चार, कक्ष ७ मा ४ र कक्षा ६ मा ३ सेक्सन छन् । विद्यालयका प्रधानाध्यापक जोशीले भने, ‘हाम्रो शिक्षक अनुपातले धान्ने जनशक्तिले ५०० भन्दा बढी विद्यार्थी धान्न सकिने अवस्था छैन ।’ विद्यालयमा विज्ञान, वाणिज्य र शिक्षा सङ्कायमा पढाइ भइरहेको छ ।

सरकारले २०६२ सालमा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो । जिल्लाकै उत्कृष्ट शिक्षण सिकाइ भएको तथा भौतिक पूर्वाधार व्यवस्थापन, शैक्षिक व्यवस्थापनमा विद्यालय अब्बल बन्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले महेन्द्र नमूना मावि जिल्लाकाभरीका अभिभावकको भरोसा बनेको जनाउँदै गुणस्तर निरन्तरता राख्नुपर्ने सुझाव दिए ।

‘महेन्द्र नमूना माध्यमिक विद्यालयमा ९ वटै स्थानीय तहका विद्यार्थी पढ्छन्,’ विद्यालयका प्रधानाध्यापक जोशीले भने, ‘अहिले विद्यालयको उचाइ जुनगतिमा पुगेको छ, त्यो निरन्तरता राख्न सक्नुपर्छ ।’ विद्यालयका प्रधानाध्यापक जोशीले विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर अभिभावकसँग सुझाव सल्लाहदेखि अध्यापनको शैलीमा विशेष ध्यान दिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १५:११