सूचनाको शक्ति - The Power Of Information

        

अपराधको ग्राफ

आफन्तकै कनेक्सनमा ‘जबरजस्ती करणी’का घटना

सांकेतिक तस्वीर

काठमाडौं । महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरु पछिल्लो समय बढ्दै आएको देखिएको छ । प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबर्जस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा लगायतका अपराधहरू बढ्न थालेको हो । महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह, घरेलु हिंसा लगायतका घटना बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा बोक्सीको आरोपमा महिलामाथि यातना दिएको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ८० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७६/०७७ मा ३४ वटामात्र बोक्सीसम्बन्धी घटना प्रहरीमा दर्ता भएका थिए । बालविवाहका घटनामा पनि दुई आर्थिक वर्षको तुलना गर्दा ३१ प्रतिशत बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा ६४ वटा बाल विवाहविरुद्ध मुद्दा दर्ता भएका थिए ।

तर, आर्थिक वर्ष २०७७/०७८ मा यो सङ्ख्या बढेर ८४ पुग्यो । त्यस्तै, बाल यौन दुराचारका घटना पनि २० प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा २७९ वटा घटना बालयौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २३२ वटा घटना दर्ता भएका थिए । यस्ता घटनामा विदेशी नागरिकहरूको संलग्नता देखिएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले बताए ।

महिला तथा बालबालिकामाथि हुने सबैभन्दा धेरै अपराधमध्ये घरेलु हिंसा रहेको देखिन्छ । धेरैजसो घरेलु हिंसाका घटना त अझै प्रहरीकहाँ पुग्ने पाउँदैन । हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित पक्ष प्रहरी कहाँ पुग्ने गरेको देखिन्छ । अशिक्षा, अज्ञानता र कानुनी सेवामा सहज पहुँच नहुँदा यस्ता घटना घरभित्र नै सीमित हुने गरेको बताइन्छ । आर्थिक वर्ष २०७७/०७८ मा १४ हजार २३२ वटा घरेलु हिंसाका घटना भएको प्रहरीको रेकर्ड छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार ७३८ वटा घटना प्रहरीमा दर्ता भएको थियो । पछिल्लो समय मानव बेचबिखनका घटना भने कम भएको देखिएको छ । तीन आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका सङ्ख्यालाई हेर्दा बेचविखन भने घटेको देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २४७ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा यो सङ्ख्या घटेर १६४ मा पुग्यो ।

आर्थिक वर्ष २०७७/०७८ मा २५ प्रतिशतले घटेर १२२ मा पुग्यो । मानव तस्करहरुले महिला तथा बालबालिकालाई यौन तथा घरेलु कामदारको रूपमा भारतदेखि युरोपसम्म पुर्याउने गरेको देखिन्छ । बहुविवाहका घटना पनि सबैभन्दा धेरै प्रहरीकहाँ पुग्ने अपराध मानिन्छ । प्रत्येक वर्ष ८०० भन्दाबढी घटना प्रहरी कहाँ पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बहुविवाहका घटना १६ प्रतिशतले बढेको थियो । यस वर्ष ८५२ वटा घटना प्रहरीले दर्ता गर्यो ।

जबरजस्ती करणीका घटना बढे

त्यस्तै, पछिल्लो तथ्यांकअनुसार जबरजस्ती करणीको घटना बढेको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा १८ प्रतिशत रेकर्ड बढी भयो । २ हजार ५३४ वटा घटना दर्ता भए यस शीर्षकमा । जबकि अघिल्लो आर्थिक वर्षमा २ हजार १४४ वटा घटना दर्ता भएका थिए । २ हजार ५३४ वटा घटनामा २ हजार ८१५ जना प्रतिवादीमध्ये ९ प्रतिशत अर्थात् २५३ जना हाडनाता सम्बन्धका थिए ।

त्यस्तै, छिमेकी ३० प्रतिशत अर्थात् ८६८ रहेका छन् । जबरजस्ती करणीका घटनामा पीडित १० वर्ष उमेर समूहका ११ प्रतिशत, ११ देखि १८ उमेरमा ५३ प्रतिशत र ६० वर्षमाथिका १ दशमलव ४८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा देशभर २ हजार १६७ वटा बलात्कार घटना भए । जसमा १ हजर ३९३ वटा घटनामा बालिका नै सिकार भएको देखिन्छ । महिलाको सङ्ख्या भने ७७१ छ ।

१० वर्षमुनि बलात्कृत हुनेको सङ्ख्या २७३ रहेको छ । ११ देखि १६ उमेर समूहमा ८०१ जना रहेको छ । १७ र १८ वर्ष उमेर समूहमा ३१९ जना बलात्कृतहरु रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बलात्कारको घटना २ हजार २५४ वटा भएका थिए । बालिकाको सङ्ख्या १ हजार ४२० वटा छ । धेरैजसो बलात्कारको घटनामा आफन्त र चिनेजानेका बाटै हुने गरेको देखिएको छ । बलात्कारपछि घटना खुल्ने डरमा हत्या गर्नेसम्मका केस देखिएका छन् ।

‘बलात्कारको घटना चिनिजानेका बाटै भएको देखिएको छ । अपराध खुल्ने डरले बलात्कारपछि हत्या गर्ने गरेका छन्,’ पूर्व डीआइजी हेमन्त मल्लले भने । बलात्कार र हिंसाका यी तस्बिर प्रहरीकहाँ दर्ता भएका केसमात्र हुन् । त्यसबाहेक आफन्त र परिवाजनले यस्तो विषयलाई लुकाउने परम्परा नै छ । जसले सहि आकारमा हिंसाको संख्या यति नै हो भनेर किटान गर्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १४:१३