सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँके र दाङमा पाटेबाघको बथानै देखिन थालेपछि…

फाइल तस्वीर

बाँके । लुम्बिनी प्रदेशको बाँके र दाङ सीमा क्षेत्रको गाभर कुसुम लगायतका स्थानमा बाघको समूह नै देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटेबाघ र चितुवाको समूह देखिएको डिभिजन वन कार्यालय लमहीले सूचना जारी गरेको छ । वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा चितुवा र बाघको समूह देखापरेको हो ।

केही दिनदेखि लमही नगरपालिका–९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको वन कार्यालयले जनाएको छ । कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदल मार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ ।

यस्तै राप्तीसोनारी गाउँपालिका–१ गांभरमा घरको छेउछाउमै आएर पाटेबाघ कराउन थालेपछि स्थानीय बासिन्दा जाग्राम बस्ने गरेका छन् । गाभरस्थित विद्यालय नजिकैको डाँडोमा आएर बाघ निरन्तर कराइरहेको गाभरकी स्थानीय बासिन्दा हिरा खड्काले जानकारी दिइन् । ‘बाघ हाम्रो घरको छेउमै आएर कराइरहेका छन्, हामी घर बाहिर निस्कने अवस्था नै छैन,’ उनले भनिन् ‘रातको समयमा हामीलाई शौचालय निस्कन पनि गाह्रो भइसक्यो, बाघको डरले नसुतेरै जाग्राम बसिरहेका छौं ।’

गाउँ नजिकै मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा भैसी र बाख्रा चराउन गएका बेला शनिबार हिरासहित कालिका खड्का र सेतु ओलीलाई पाटेबाघले घेरा हालेका थिए । बाघबाट जोगिन रुखमा चढेका उनीहरूलाई करिव डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले उद्दार गरिएको थियो । शनिबार भएको उक्त घटनाबाट त्रसित भएका गाभरका स्थानीय बासिन्दा आइतबार पशु चौपाया चराउन जंगल जान सकेका छैनन् ।

तर, पाटेबाघहरू घर नजिकै आएर निरन्तर कराउन थालेपछि आफ्नै घरभित्र पनि डराएर बस्नु परेको हिराले सुनाइन् । रुखमा चढेर बाँच्न सफल भएका ब्यक्तिले शनिबार जंगलमा ४ वटा बाघ एकै ठाउँमा देखेको बताएका थिए । केहीदिन अघि निकुञ्जले राखेको क्यामेरामा पनि एउटै क्षेत्रमा चार वटा बाघ कैद भएका थिए । बाघले शनिबार मान्छेलाई आक्रमण गर्न नपाएपछि ६ वटा भैसीलाई लखेटेको थियो ।

नदीपारी खर्चे पुगेका पाँच वटा भैसीलाई स्थानीयले आइतबार निकुञ्जका हात्तीको मद्दतले घरमा ल्याइएको र एक जिउ राँगो अझै फेला नपरेको हिराले सुनाइन् । ‘निकुञ्जका दुई वटा हात्तीसहित हामीहरू खर्चे गएर पाँच वटा भैसी ल्याएर आयौं, हराएको एउटा राँगो फेला परेन, सायद बाघले खायो होला,’ उनले भनिन् । बाघले आतंक मच्चाउन थालेपछि निकुञ्जले गाभरमा माउतेसहित दुई वटा घरपालुवा हात्ती राख्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १३:५२