सूचनाको शक्ति - The Power Of Information

        

समाचार

रारामा पर्यटकको चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना संक्रमणका कारण लामो समयसम्म थला परेको रारा पछिल्लो समय संक्रमण ओरालो लागेपछि वर्षा सकिएर मौसम खुलेसँगै रारा घुम्ने सिजन सुरु भएको हो ।

पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवनलगायत ठाउँबाट रारा आउनेहरू बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । सहरी क्षेत्रबाट दैनिक ३० जनासम्म पर्यटक रारा आइरहेका छन् । दैनिक ५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् ।

कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक पनि बढ्न थालेको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए  । उनका अनुसार जहाजबाट आउने पर्यटकको संख्या बढेपछि निजी एयरलाइन्सले दैनिक पाँचवटासम्म उडान भर्न थालेका छन् ।

लामो समयपछि फिनल्याडका नागरिकको टोली पनि रारा आएको निकुञ्जले जनाएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि कोरोना महामारीका कारण कारोबार शून्य भएका होटेल, कटेज र होमस्टे पनि खुल्न थालेका छन् । करिब सात महिनापछि पर्यटकले कोठा बुक गर्न थालेको माझघट्ट होमस्टेका सञ्चालक रत्नसिंह रोकायाले बताए ।

‘पर्यटक बढेपछि खानपिन, सरसफाइ र अन्य व्यवस्थापनको तयारी थालिएको छ,’ उनले भने, ‘अहिले दैनिक कोठाहरू बुक हुन थालेका छन् । उनले पर्यटक बढ्न थालेपछि होटेल व्यवसायी, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साहित बनेको बताए । लामो समय कामविहीन बनेका घोडाले बल्ल काम पाउन थालेको व्यवसायी गोर्ख रोकायाले बताए  ।

उनले दैनिक एक हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् । हिजोआज करिब १५ पर्यटकलाई आसपासका गाउँमा घुमाइरहेको जानकारी दिए । पछिल्लो समय मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ  ।

रारा आएका पर्यटक घोडा चढेर मुर्माटप जान्छन् भने त्यहाँबाट सैपाल हिमाल, छायानाथ तीर्थस्थलसहितको अवलोकन गरेर फर्किन्छन् । पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट निर्माण गर्न थालिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १३:३६