सूचनाको शक्ति - The Power Of Information

        

फेसबुक डाउन हुँदा केही घण्टामै ७ खर्ब डुब्यो

काठमाडौं । फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगतरुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर (७ खर्ब नेपाली रुपैयाँ)को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान तल झरेका छन् ।

स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्स एप, अमेरिकी टेलिकम कम्पनीजस्तै भेरिजोन, At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो । करिब ६ घण्टाको अवरोधपछि बिहान करिब चार बजे आसपास फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका सेवा सुचारु भएका छन् ।

सेयरमा पाँच प्रतिशतको गिरावट

यी सबका बीच अमेरिकी सेयर बजारमा फेसबुकको सेयरको बिक्रि सुरु भयो र एकैदिनमा यसको मूल्यमा पाँच प्रतिशतको गिरावट आयो । मध्य सेप्टेम्बरदेखि हालसम्म यो सेयर १५ प्रतिशतसम्म खस्किसकेको छ । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार यसका कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ । योसँगै उनी छैटौं स्थानमा पुगेका छन् । यसअघि उनी यो सूचीको चौथो स्थानमा थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ११:३५