सूचनाको शक्ति - The Power Of Information

        

यसपालि दशैँमा पनि पानी पर्ने

काठमाडौं । यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ ।  मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालकाे पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ’ उहाँले भन्नुभयो । दशैँ नजिकिएसँगै यात्रुहरु गाउँ घर जान थालिसकेका छन् । पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम हुने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै, मौसमविद् मानन्धरले यसपालि दशैँ पछि पनि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । अक्टोबर र नोभेम्बरमा पोस्ट मनसुनका गतिविधि हुने भएकाले दशैँ पछि पनि पानी पर्ने उहाँले बताउनुभयो । यसपालि मनसुन सुरु भए पछि औसतभन्दा धेरै वर्षा भइसकेको छ ।

गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । मौसमविद्ले मनसुन सुरु हुनु अगावै यसपालि धेरै पानी पर्ने अनुमान गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०९:३८