सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सुर्खेतका बाढीपीडित भन्छन्, ‘दशैं अभावमै बित्ने भयो’

सुर्खेत । सुर्खेतका बाढीपीडितहरूको यस वर्षको दशैँ र तिहार पनि निराशामै बित्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाको सिमानामा पर्ने गिरीघाटमा अस्थायी शिविरमा बसोबास गर्दै आएका करिव २०० घरधुरी बाढीपीडिहरूले गिट्टी कुटेर गुजारा चलाउँदै आएका छन् ।

२०७१ सालमा आएको बाढीले घर जग्गा बगाएपछि विस्तापित बनेका पीडितहरूले विगतका वर्षमा जस्तै यस वर्षको दशैं तथा तिहार अभावै बित्ने बताए । कोरोना महामारीको दोस्रो लहर सुरू भए यता उनीहरूले कुटेको गिट्टी बिक्री भएको छैन । गिट्टी बिक्री नहुँदा दैनिक गुजारा चलाउन नै मुस्किल भइरहेका बेला चाडबाड कसरी मनाउने थप चिन्ता बढेको हो ।

‘सात वर्षअघिदेखि हामी यहींको टहरामा बस्दै आएका छौँ । अहिले उमेर पनि बुढो भइसक्यो, अरु काम गर्न सकिँदैन सक्ने भनेको यहीँ गिट्टी कुट्ने हो,’ ६७ वर्षीया कौशिला नेपाली भन्छिन्, ‘गिट्टी कुट्दा–कुट्दा हातका पाखुरासमेत दुख्छन् । राति सुत्ने बेला पूरै जिउनै दुख्ने गर्दछ । हड्डी खियाएर कुटेको गिट्टी बिक्रीसमेत नहुँदा यस वर्षको दशैं तथा तिहार कसरी मनाउने भन्ने चिन्ता लागेको छ ।’

गिरीघाटमै बस्ने ४५ वर्षीय रुपलाल विकले कोरोनाको दोस्रो लहर सुरु भएसँगै थप गास, बासको समस्या दिन प्रतिदिन बढ्दै गएका बेला नजिकिँदै गरेको दशैं तथा तिहारमा के खाने, के लाउने भन्ने चिन्ताले पिरोल्दै गरएको बताए । उनले भने, ‘यसपालिको दशैं तथा तिहार पनि मुखैमा आएको छ । तर, एकजोड् शरिरको लुगा फेर्ने पैसा पनि छैन । दशैं तथा तिहार पनि निराशमै बित्ने भएको छ ।’

साँझ बिहान के खाने, के लाउने भन्ने पिरलोले बढेको बेला मौसम परिवर्तनका कारण कतिपय बालबच्चा र वृद्धवृद्धालाई ज्वरो तथा टाइफाइडको समस्यासमेत देखा परेको बाढीपीडित विष्णु नेपालीको गुनासो रहेको छ । कर्णाली प्रदेश सरकारले दशैं अगावै प्रतिघरधुरी तीन लाख रुपैयाँ उपलब्ध गर्ने र सम्बन्धित स्थानीय तहले पुनर्स्थापनाको जिम्मा लिने बताए पनि रकम नपाएको विस्थापितहरुको गुनासो छ ।

सुर्खेतमा एक हजार ४५ विस्थापित घरधुरीमध्ये ४०० भन्दाबढी घरधुरी सुर्खेत जिल्लाका विभिन्न शिविरमा बस्दै आएका छन् । २०७१ साउन २८ र २९ गतेका दिन अविरल वर्षापछि आएको बाढीबाट प्रभावित भएका सुर्खेतका केही स्थानीय तहका नागरिकलाई पूर्णरूपमा घरवारविहीन बनाएको थियो । त्यसपछि उनीहरू यहाँ अस्थायी टहरा बनाएर बसेका छन् । गिरीघाटमा अहिले रानीघाट, थापाडेरा, सिस्नेरी र डोक्काबाट आएका करिब २०० घरधुरी बसोबास गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०८:२८