सूचनाको शक्ति - The Power Of Information

        

टिप्पणी

उपभोक्ताका आँखामा छारो : परम्परा धान्न चाडपर्वमा मौसमी बजार अनुगमन

अनुगमनका नाममा केही अनुगमनकर्ताहरुले गल्ती गर्ने व्यवसायीलाई उन्मुक्ति दिँदै चाडपर्व खर्च असुलीमा लागेको गुनासो पनि आइरहेको छ ।

बाँके । प्रमुख चाड दशैँ, तिहार, छठ आउँदा बजारमा व्यापारीले दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम मूल्य वृद्धि गर्ने, अखाद्य वस्तु बिक्री गर्ने क्रम बढेको छ । उपभोक्ताले सामान खरिद गर्दा खासै ध्यान नदिने हुँदा व्यापारीले मौकामा फाइदा उठाउने गरेका छन् । यस्तो बेला सरोकारवाला पक्षले अनुगमन गरी दोषीलाई कडा कारबाही गर्न नसक्दा नाम मात्रको अनुगमन हुने गरेको पाइएको छ ।

बर्सेनि देखावटी अनुगमन हुन्छ तर अवस्था जस्ताको तस्तै छ । अनुगमनको परम्परा धानेर उपभोक्ताको आँखामा छारो हाल्ने मात्र काम भएको उपभोक्ताको गुनासो छ । चाडपर्व नजिकिँदै गर्दा चाडपर्व केन्द्रित बजार अनुगमन हुन थालेको छ । दशैँ नजिकिएसँगै बाँकेका विभिन्न बजारमा अनुगमन थालिएको हो । दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुन सक्ने भन्दै मौसमीरुपमा चाडपर्व केन्द्रित बजार अनुगमन भइरहेको छ ।

उपभोक्ताले बजार अनुगमन प्रभावकारी नभएको गुनासो गरेपछि अहिले पनि नेपालगन्ज, कोहलपुर लगायतका मुख्य बजारमा मौसमी अनुमगन तीव्र पारिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनको परम्परा धानेर उपभोक्ताको आँखामा छारो हाल्ने बजार अनुगमन गरिरहेको छ । दुई/चार दिन बजार अनुगमन गरेर उपभोक्ताको आँखामा छारो हाल्ने गरेको उपभोक्ताहरुको आरोप छ ।

बाँकेमा चाडपर्वका बेलामात्रै बजार अनुगमन गरिन्छ । नियमित अनुगमन हुनुपर्नेमा वर्षमा एक/दुई पटक मात्र टालटुले अनुगमन हुँदा उपभोक्ता मारमा परेका छन् । बजारमा व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने गरेको र अत्यधिक मूल्य बढाइरहेका छन् । बजारमा आफूखुसी सामानको मूल्य वृद्धि गरेको र अखाद्य वस्तुको अत्यधिक प्रयोग गरेकाले बजार अनुगमन गरी त्यस्ता कार्यलाई नियमित नियमन गर्न जरुरी छ ।

कालोबजारी भएको गुनासो आएपछि मात्रै बजार अनुगमनमा जानु परम्पराको निरन्तरता मात्रै भएको भन्ने बुझिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजारमा अनुगमन गर्दा कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्रीमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने काम भइरहेको दावी गरे पनि परम्पराको निरन्तरता मात्रै भएको उपभोक्ताहरुको गुनासो छ ।

बजारमा व्यवसायीहरूले अखाद्य वस्तु मिसाउने गरेको, सामानको जथाभावी मूल्य वृद्धि गरेको र म्याद नाघेका सामान बेचेको गुनासो बढिरहेको छ । आवश्यकताका आधारमा नभई स्वार्थ केन्द्रीत बजार अनुगमन हुने गरेको छ । सम्भावित मूल्य वृद्धि र म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने पक्षलाई नियन्त्रण गर्नुको साटो स्वार्थ केन्द्रीत अनुगमन हुने गरेको नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रका उपभोक्ताहरु बताउँछन् ।

स्थानीय उपभोक्तालाई बजारमा हुन सक्ने मूल्य वृद्धि र म्याद गुज्रेका खाद्यवस्तु बिक्रीका बारेमा कमै जानकारी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित रूपमा बजार अनुगमन भइरहेको भए पनि दशैँ, तिहारजस्ता महान् चाडबाडका लागि योजना बनाएरै अनुगमन गरिने दावी गर्छ । तर अनुगमनमा बजारमा मूल्य वृद्धि भएको र उपभोगका लागि समयसीमा नाघेका खाद्यवस्तु तथा सामग्री छ्याप्छ्याप्ती पाइन्छन् ।

जिल्लामा दशैँ तथा तिहारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने परम्परालाई तोड्न बजार अनुगमनलाई अभियानकै रूपमा सञ्चालन गरेको र मूल्यसूची सबैले राख्नुपर्ने, खाद्यान्न, पेट्रोल लगायतका वस्तुको अभाव हुन नदिने र कृत्रिम अभाव गराई मूल्य चर्काउने व्यापारीको निगरानी गरिरहेको अनुगमनकर्ताहरुको दावी छ । तर, उनीहरुले दावी गरेजस्तो व्यवसायीहरुले नगरेको उपभोक्ताहरु बताउँछन् ।

जिल्लामा उपभोक्तालाई ठगिन नदिन र म्याद नाघेका सामानको बिक्री रोक्नका लागि बजार अनुगमन नियमित रूपमा गरिएको दावी गरे पनि बजारमा व्यापारीले म्याद गुजे्रका सामान बिक्री गरेको, इजाजत नलिई पसल सञ्चालन भइरहे पनि अनुगमनकर्ताहरु स्वार्थ केन्द्रीत अनुगमनमा लागेको बताइन्छ । अनुगमनका नाममा केही अनुगमनकर्ताहरुले गल्ती गर्ने व्यवसायीलाई उन्मुक्ति दिँदै चाडपर्व खर्च असुलीमा लागेको गुनासो पनि आइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०८:०८