सूचनाको शक्ति - The Power Of Information

        

एमालेले बोलायो भेला

स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला सुरु, ओलीले सम्बोधन गर्ने

निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला सुरु भएको छ ।

पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला नौ बजेदेखि जारी रहेको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।

भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको बताइएको छ । दाहालका अनुसार एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने छ ।

भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् ।

उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । नेकपा एमालेले आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १०:५४