सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बलात्कृत राउटे युवतीका बुवाले भने, ‘छोरी बलात्कार गर्नेलाई हामी सजाय दिन्छौं’

राउटे युवती सम्झना शाहीर उनका बुवा रतनबहादुर । फाइल तस्वीर

सुर्खेत । छोरी बलात्कृत भएको घटना थाहा पाएपछि राउटे युवती सम्झना शाहीका बुवा रतनबहादुरले पहिलो पटक सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् । छोरीलाई भुल्के गाउँका केटाहरुले जबरजस्ती नराम्रो काम गरेछन्, नराम्रो गर्ने केटाहरुलाई पुलिसले समातेको रहेछ भन्ने कुरा केहीदिन अघिमात्रै भर्खर थाहा पाएको बताए ।

राउटे रतनबहादुरले भने, ‘त्यो घट्ना अलि पहिले नै भएको रहेछ, हामीलाई अहिले थाहा भयो, उनीहरुलाई सजाय हुनुपर्छ, त्यस्तो नराम्रो गर्ने मान्छेलाई नेपाल सरकारले सजाय दिनुपर्छ, नत्र हाम्रो मुखियाले सजाय दिन्छ ।’ अनुहार हेर्दा अचम्म तनावमा देखिएका शाहीले घटनाबारे अहिलेसम्म हामीलाई किन नभनेको ? भनेर उनले गुनासो पोखे ।

‘त्यो सरकारी अड्डा कहाँ छ, हामीलाई त्यहाँ पुर्याइ दिनुपर्यो, हामीलाई हाकिमसँग भेट गराई दिनुपर्यो हामी हाकिमसँग कुरा गर्छौ,’ राउटे रतनबहादुरले आक्रोशित हुँदै भने । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर खत्रीले मुद्दा सुनुवाइको प्रक्रियामै रहेको कुरा बताए ।

घटनामा संलग्न भएका तीन जना प्रतिवादीविरुद्धको मुद्दाको बारे छानविन तथा अनुसन्धान भइरहको र ऐन बमोजिम कारबाही हुने न्यायाधिवक्ता खत्रीले भने । ‘प्रतिवादीहरुविरुद्ध ऐनमा व्यवस्था भए बमोजिम सजायको माग गर्दै सुर्खेत जिल्ला अदालतमा आरोप पत्र दायर भएको छ,’ न्यायाधिवक्ता खत्रीले भने ।

२०७८ जेठ २१ गते सुर्खेत गुर्भाकोट नगरपालिका–९ भुल्केका चोमनबहादुर घर्ती र सोही ठाउँ निवासी भुपेन्द्र बुढाले दुई जना राउटे युवतीलाई ललाईफकाई गरेर बोटेचौर बजारमा रहेको शुभकामना होटेलमा पुर्याई मदिरा सेवान गराएर जबरजस्ती करणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे युवतीलाई समेत बलात्कार गर्नेहरुविरुद्ध आफुहरु कानुनी लडाइ लडिरहेको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी अधिकारी खड्काले बताइन् । ‘प्रतिष्ठानले मुद्दा हेरिरहेको छ, घटनामा संलग्नहरुविरुद्ध हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार १२:०६