सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा खुलेनन् सुपथ मूल्य पसल

फाइल तस्वीर

बाँके । दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्यका पसलहरू देशभर खोल्ने भने पनि बाँकेमा त्यस्ता पसल सञ्चालन भएका छैनन् । विगतका वर्षमा चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो ।

यस वर्ष चाडपर्व नजिकिँदा पनि सुपथ मूल्य पसल सञ्चालन गरिएको छैन । साल्ट ट्रेडिङ्ग कर्पोरेसनका कार्यालय प्रमुख मनोज चौधरीले कार्यालयबाटै छुटमा नुन बिक्री गरिरहेको जानकारी दिनुभयो । प्रमुख चौधरीका अनुसार कर्पोरेसनसँग चिनी भने छैन । यस वर्ष विगतमा जसरी एकै ठाउँमा सबै सामग्री राखेर सुपथ मूल्य पसल सञ्चालन हुन नसकेको चौधरीले बताए ।

सुपथ मूल्य पसल सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भए पनि प्रभावकारी पहल गर्न नसकेको स्थानीयको गुनासो छ । चाडपर्वका बेला व्यवसायीहरूले महँगी र कालाबजारी गर्ने भएकाले नागरिकलाई सुहलियतका लागि सरकारले चाडपर्वमा सबै जिल्लामा सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार ११:०९