सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमाले विधान महाविधेशन : अध्यक्ष ओलीसहितका नेताले आज जवाफ दिने

आजै महाधिवेशन सक्ने तयारी

काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आज (आइतबार) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् ।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन् । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन् ।

नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर आजै महाधिवेशन सक्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार ०७:४८