काठमाडौं । काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले सिमसिम पानी परिरहेको छ ।
दिउँसोसम्म नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले देशका अरु ठाउँको मौसम बद्ली भएर प्रदेश-१, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
दिउँसो पनि यी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्नुका साथै अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ ।
राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यो वर्षको मनसुन आजदेखि बाहिरिने मिति भए पनि केही दिन मनसुन रहिरहने उहाँले बताउनुभयो ।
मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना छैन ।
।