सूचनाको शक्ति - The Power Of Information

        

समाचार

विद्युत् मिटर नपाउँदा राप्तीपारिका ६०० घरधुरी अझै अँध्यारोमा

बाँके । बाँकेको राप्तीपारि विद्युत् विस्तार भए पनि प्राधिकरणले मिटर उपलब्ध नगराउँदा राप्तीसोनारी र नरैनापुरका आधाभन्दा बढी परिवार अझै अँध्यारोमा बस्न बाध्य छन् । तीन दशकभन्दा बढीको पर्खाइपछि सात महिना पहिले राप्तीसोनारी र नरैनापुर मुख्य सडकवरिपरिका बस्तीमा विद्युत् विस्तार गरिए पनि विद्युत् प्राधिकरणले मिटर उपलब्ध नगराउँदा उनीहरू सडकको बत्ती हेरेरमात्रै चित्त बुझाइरहेका छन् ।

विद्युत् जडान गर्न मिटर बक्सका लागि आवश्यक कागजात र पैसा बुझाएको छ महिना बितिसक्दासमेत मिटर पाउन नसकेको दुवै गाउँपालिकाका अधिकांश उपभोक्ताको गुनासो छ । विद्युत् प्राधिकरणको मटेहिया शाखाले पहुँचका भरमा मिटर बाँडिरहेको र अन्य उपभोक्ताको फाइल तथा पैसा बुझ्नसमेत अहिले बन्द गरिसकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का स्थानीय राजाराम थारूले बताए ।

राप्तीसोनारीको वडा नं. ३ मा एक हजार २०० घरधुरी छन् । ६०० बढी घरधुरीले अझै मिटर पाउन नसकेपछि हप्ता र महिनैपिच्छे प्राधिकरणमा डेलिगेसन जाने गरेको स्थानीय हेमकुमार डाँगीले बताए । डाँगी भन्छन्, ‘बत्तीका लागि दौडधुप गरेर अहिलेसम्म कति जुत्ता च्यातिए थाहा छैन । पहिले विद्युत् विस्तारका लागि सङ्घर्ष गरियो, अहिले मिटरका लागि धाउनुपरेको छ ।’

राप्तीसोनारी गाउँपालिकाले आठ करोड बढी लगानीमा वडा नं. ३ मा आफैं पोल गाड्ने, तार तान्नेलगायतका काम गत चैतको पहिलो सातामै सम्पन्न गरेको थियो । पूर्वाधार निर्माणपछि प्राधिकरणलाई हस्तान्तरण गरेको छ महिना बितिसक्दासमेत सबैले बत्ती बाल्न नपाउनु विद्युत् प्राधिकरणकै कमजोरी भएको स्थानीय सन्तोष चौधरीले बताए । राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गङ्गाराम थारूले प्राधिकरणमा जाँदा अश्वासन राम्रो पाउने गरेको तर अहिलेसम्म मिटरको समस्या ज्यूँका त्यूँ रहेको सुनाए ।

यस्तै, राप्तीसोनारी गाउँपालिका वडा नं. ४ शाहीपुरका विक्रम थारूले गत चैत महिनामा विद्युत् विस्तार हुनासाथ बत्ती जोड्न मिटर माग गर्दै गत वैशाखमा विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जमा आवश्यक कागजातसहित शुल्क बुझाए पनि अहिलेसम्म मिटर नपाएको बताए । उता, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख लखनलाल मल्लिकले मिटर अभाव रहेको बताउँदै जनशक्तिसमेत अभाव रहेको बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ०९:२४