बाँके । भारतसँग खुल्ला सीमा–नाका रहेको बाँकेमा भारतबाट ठूलो परिमाणमा विभिन्न मालसामानहरु नेपाल आयात हुने गरेको खुलेको छ । बाँके जिल्लासँग सीमा जोडिएका खुला नाकाबाट लामो समयदेखि तस्करी हुँदै आएको खुलेको हो ।
गएराती नेपालगन्ज उपमहानगरपालिका–१० बाट ठूलो मात्रामा चोरी पैठारी गरी ल्याएको बरामद भएपछि तस्करी हुँदै आएको खुलेको हो । जिल्ला प्रहरीको टोलीले–१० स्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याएको लत्ताकपडा, विद्युतिय सामान, घन्टी लगायत करिब १ लाख ८३ हजार ८०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
उक्त सामान जमुनाह नाका आसपासका गाउँहरु हुँदै भित्रिएको प्रहरी स्रोतले बताएको छ । बरामद गरिएको उक्त सामान प्रहरीले थप कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाएको छ । उक्त सामान सीमा क्षेत्रमा खटिएका प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको सीमा क्षेत्रका नागरिकहरुले बताएका छन् ।
विगत लामो समयदेखि सीमा क्षेत्रबाट प्रहरीकै सेटीङ्गमा राजश्व छली गरेर विभिन्न माल सामानहरु नेपाल आयात हुँदै आएका छन् । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ भने नेपाली व्यापारीहरुसमेत विस्थापत हुन थालेका छन् । जमुनाह प्रहरीकै सेटिङ्गमा भारतबाट दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, तेल, साबुन, सोडा, लुगाकपडा खुलेआम नेपाल आयात हुँदै आएका छन् ।
योसँगै जमुनाह नाकाबाट कुखुरा, अण्डा, हार्डवयरका सामान, विभिन्न मेसिनरी सामानहरुका पार्ट, गाडीका पार्टहरु रासायनीक मल लगायत दैनिक लाखौंका सामानहरु नेपाल भित्रिँदै आएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज रहेका प्रहरी नायब निरीक्षक (सई) पुर्ण खत्रीले तस्करलाई ‘लाइन’ दिएपछि तस्करी मौलाएको नेपालगन्जका एक जना व्यापारीले नाम नखुलाउने सर्तमा सत्यपाटीलाई बताए ।
‘सीमा क्षेत्रमा खटिएकै प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको छ । प्रहरीको मिलेमतो नभए जमुनाहबाटै कसरी सामान तस्करी हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘दैनिक लाखौँ मुल्य बराबरका सामान भित्रिन्छन् । सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले भने नदेखेझैं गरेर भित्रिएको सामान नेपालगन्ज आएपछि बरामद हुन्छ ।’ सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतो तस्करसँग भएकै कारण तस्करी मौलाएको छ ।
सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीका इन्चार्जले नेपाली व्यापारीहरुसँग मात्र नभएर भारतीय व्यापारीहरुसँग पनि हप्ता असुल्ने गरेको रहस्य पनि खुलेको छ । विषेशगरी रातीको समयमा बढी चोरी, तस्करी र निकासी हुने गरेको छ । रातको समयमा सीमापारि भारतीय बजारबाट नेपाल भित्रिने सामान बरामद हुने क्रम बढेपछि भारतीय व्यापारीहरुले समेत सशस्त्र र नेपाल प्रहरीका सीमा इन्चार्जहरुलाई मिलाउँदै आएको बताइएको छ ।
भारतीय व्यापारीहरुले सशस्त्र र नेपाल प्रहरीका सीमा इन्चार्जहरुलाई मोटो रकम दिएर आफ्नो सामान नेपालतिर ‘पास’ गराउँदै आएको पनि प्रहरी स्रोतले बतायो । सशस्त्र र नेपाल प्रहरीले यस्ता अवैध काम गर्नेहरुसँग महिनावारी ठूलो रकम बुझ्ने गरेकोले यस्ता गलत कार्यले प्रसय पाएको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् । जमुनाहका इन्चार्ज खत्रीले डिआइजीको आडमा तस्करीलाई संरक्षण गरिरहेको आरोप छ ।
इन्चार्ज खत्रीले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यको संरक्षण र आडमा तस्करीलाई बढावा दिएको स्रोतको भनाई छ । डिआइजीको ‘भाग’ स्वरुप नै डिआइजी आचार्यले सई खत्रीलाई जमुनाहमा इन्चार्जको जिम्मेवारी दिएर खटाएका छन् । उनी डिआइजी निकट भएकै कारण प्रहरीको बाँके नेतृत्वले सई खत्रीविरुद्ध ‘एक्सन’ लिन नसकेको प्रहरीभित्र चर्चा पनि चलेको छ ।
‘जुन व्यापारीको सामान नेपाल आउछ उनीहरुसँग सशस्त्र र नेपाल प्रहरीले कमिशन उठाउँदै आएका छन् । कमिसन नदिने ब्यापारीले ल्याएको सामान प्रहरीले बरामद गर्छ । जसले कमिशन दिन्छ, उसले सामान क्यारिङ्ग गर्नेहरुलाई पसलको नाम लेखि हस्ताक्षर गरेर चिट दिने गर्दछन् । त्यो चिट प्रहरीलाई देखाइन्छ । उनीहरुको सामान समातिदैन बाँकीको सामान समातिन्छ,’ सीमा नाकामा खटिएका एक जना प्रहरीले भने ।
यतिमात्रै होइन, गस्तीमा खटिने प्रहरीले नेपाली व्यापारी र क्यारिङ्ग गर्नेहरुसँग समेत असुल्दै आएको पनि सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् । नाकामा हुने यस किसिमका अवैध ओसारपोसार र तस्करी बढेपछि नेपालगन्ज क्षेत्रमा व्यापार शुन्यजस्तै भएको यहाँका व्यापारीहरुको गुनासो छ । जसका कारण यहाँका अधिकांश व्यापारीहरु व्यवसायबाटै पलायन भइरहेको पनि नेपालगन्जका व्यवसायीहरु बताउँछन् ।
।