सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीभित्रै विभेद ?

पहुँचवाला इन्चार्जलाई उन्मुक्ति, पहुँचबिहीन प्रहरी जवान र हवल्दार अन्यायमा

ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज पुर्ण खत्री भन्छन्, ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए दशैं कसरी मनाउनु ?’

बाँके । असोज ९ गते शनिबार विहान ९ बजे नेपालगन्ज–१ बाट बेवारिसे अवस्थामा रहेका ६ वटा राँगा प्रहरीले नियन्त्रणमा लियो । उक्त राँगा जमुनाह नाका हुँदै नेपाल भित्रिएको चर्चा चल्यो । जमुनाह नाका हुँदै राँगा नेपाल भित्रिए/नभित्रिएको पुष्टी गर्न इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण खत्रीलाई सोध्यो, ‘राँगा जमुनाह नाकाबाटै भित्रिएका हुन् ?’

जमुनाह इन्चार्ज सई खत्रीको जवाफ थियो, ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए कसरी दशैं मनाउनु ?’ इन्चार्ज खत्रीले अन्य नाकामा गलत हुँदैन, सबै गलत जमुनाहबाटै हुन्छ भन्दै आक्रोशित हुँदै भने अन्यत्र सबै राम्रो जमुनाहमात्रै गलत ? सई खत्रीले व्यक्त गरेका शब्दको भनाई अनुसार बाँके जिल्लाका अन्य सीमा नाकाबाट पनि राँगा लगायत अन्य बस्तुको तस्करी भइरहेको छ ।

जमुनाह नाका भएर नेपाल भित्रिएका ६ वटा राँगा नेपालगन्ज–१ बाट प्रहरीले एक लाख पचास हजार रुपैयाँ मूल्यका राँगा नियन्त्रणमा लिएपछि भारतबाट अवैधरुपमा राँगा तस्करी भइरहेको खुलेको छ । दशैं नजिकिँदै गर्दा राँगा तस्करी भइरहेको जमुनाहका इन्चार्जको ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए कसरी दशैं मनाउनु ?’ भन्ने भनाईले नै यस घटनाले पुष्टी गरेको छ ।

उनले सत्यपाटीका प्रतिनिधिसँगको कुराकानीका क्रममा ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए कसरी दशैं मनाउनु ?’ भन्ने जवाफ दिएपछि उनकै सेटिङ्गमा राँगा तस्करी भइरहेको पुष्टी भएको छ । त्यसो त जमुनाह भन्सार नाकाबाट राँगामात्रै होइन, अन्य खसीबोका, चिनी, चामल, युरिया मल, लत्ताकपडा लगायतका सयौं प्रकारका बस्तु तथा सामानहरु तस्करी हुँदै आएको छ ।

दशैं नजिकिँदै गर्दा भारतबाट आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । भारतबाट आउने नेपालीहरुलाई १०० रुपैयाँ नदिँदासम्म चेकपोष्टबाट नेपाल भित्रिन नदिन जमुनाहका इन्चार्ज सई खत्रीको निर्देशन थियो । सोही अनुसार उनी मातहतका प्रहरीहरुले चेकपोष्टमा नेपालीहरुबाट रकम उठाइरहेको त्यहाँबाट जिल्ला तानिएका एक जना प्रहरी अधिकारीले सत्यपाटीलाई जानकारी दिए ।

चाडपर्व मनाउनकै लागि अर्काको देशमा दुःख गरेर कमाएको केही पैसा जोगाएर घर फर्किँदै गरेका नेपालीहरुले बोकेका गुन्टा र झोलामा भन्सार लाग्ने र ल्याउन नमिल्ने कुनै वस्तु वा सामान नभए पनि १०० रुपैयाँ असुल्नकै लागि चेक पाष्टका प्रहरीले दुःख दिँदै आएका थिए । जाजरकोटका पदम कामी दशैंतिहार मनाउनका लागि भारतको सिमलाबाट असोज ११ गते सोमबार बिहान जमुनाहा नाका आइपुगेका थिए ।

सिमलाबाट तीन दिनको कष्टपूर्ण यात्रापछि जमुनाहा नाका आइपुगेका पदमको साथमा गुन्टा र झोला थिए । ‘केही कमाएको पैसा जोगाएर दशैंतिहार मनाउन घर फर्किँदै थिएँ,’ उनले भने, ‘तर, जमुनाहमा आएपछि नेपाल प्रवेश गर्ने ठाउँमा आफ्नै नेपाली सुरक्षाकर्मीबाट लुटिएको जस्तो अनुभव भयो ।’ कामी र उनीसँगै आएका साथीहरुले प्रहरीको असुलीविरुद्ध लिएको अडान र त्यसको विरोध गरेपछि मुस्किलले उनीहरुले नाका पार गरेका थिए ।

सुर्खेतकै अन्जु पुनसँग समेत नाकामा खटिएका सुरक्षाकर्मीहरूले रकम असुली गर्न छाडेनन् । ‘५०/६० रुपैयाँ दिइम् भने छोडिदिँदो रहेछ,’ उनले भनिन्, ‘पैसा नदिदाँसम्म भित्र हालिदिँदो रहेछ ।’ पदम र अन्जु सोमबार जमुनाहा नाका क्षेत्रमा रहेका सुरक्षाकर्मीका चेकपोष्टमा दुःख पाउने प्रतिनिधिमुलक पात्र मात्रै थिए । नाकामा पदम र अन्जुजस्तै भारतबाट फर्किएका सयौं नेपालीसँग जमुनाह इन्चार्ज खत्रीको निर्देशनमा रकम असुली भइरहेकै थियो ।

अझ सीमा क्षेत्रमा आवतजावत ब्यवस्थापन उत्तिकै भद्रगोल छ भने होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाले पनि भारतबाट फर्किएका नेपालीलाई ठग्दै आएका छन् । भारतका विभिन्न स्थानबाट कष्टपूर्ण यात्रा गरेर जमुनाह नाका आइपुग्ने नेपालीलाई जमुनाहा चेकपोष्टमा प्रहरी दुःख दिन थालेको गुनासो बढेपछि बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने बुधबार सादा पोसाकमै छड्के चेकजाँचमा जमुनाह नाका पुगे ।

बुधबार नै सीमा क्षेत्रमा आवतजावत ब्यवस्थापन गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले १७ जना प्रहरीलाई तान्यो । तर, ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए कसरी दशैं मनाउनु ?’ भन्ने र चेकपोष्टमा नेपालीहरुलाई दुःख दिन खटिएका सई केसीलाई उन्मुक्ति दिएर तल्लो दर्जाका अन्य १७ जनालाई एकाएक कारबाहीस्वरुप जिल्लामा तानेपछि प्रहरीभित्रै पहुँचको कसरी ‘इस्तेमाल’ हुँदोरहेछ भन्ने कुराको पनि पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले १७ जना प्रहरीलाई कारबाही गरेर ईन्चार्जलाई उन्मुक्ति दिएको भन्दै प्रहरी कर्मचारीभित्रै असन्तुष्टी समेत बढेको छ । बुधबार सीमा क्षेत्र जमुनाहमा पुगेका एसपी अधिकारी र डिएसपी न्यौपानेले चेकजाँचमा खटिएका केही प्रहरीले भारतबाट नेपाल आउने नेपालीबाट रकम उठाउने गरेको भन्दै १७ जना प्रहरीलाई कारबाहीस्वरुप जिल्ला ताने पनि ईन्चार्ज रहेका सई खत्रीलाई उन्मुक्ति दिनु गलत भएको बताइन्छ ।

प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले सई खत्री पनि विशेष निगरानीमा रहेको बताउँदै आए पनि उनलाई त्यहाँबाट हटाउन बाँके प्रहरीको नेतृत्व हच्किएको प्रहरी स्रोतले बतायो । जमुनाहको इन्चार्ज रहेका सई खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यको संरक्षण छ । डिआइजीकै संरक्षणमा रहेका सई खत्रीले सीमा क्षेत्रमा अवैध तस्करीको लाइन दिँदै भारतबाट घर फर्किनेहरूबाट रकम असुली हुँदै आएको बताइन्छ ।

सई खत्रीसहित २५ जना रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका १७ जनामात्रै कारबाहीको दायरामा ल्याएर पहुँचवाला सईलाई उन्मुक्ति दिइएको भन्दै बाँकेका प्रहरी नेतृत्वको सबैतिरबाट चर्को आलोचना भइरहेको छ । एक जना प्रहरी अधिकारीले भने, ‘प्रहरीमा चेन अफ कमाण्ड छ, कमाण्डरकै आदेश र निर्देशनमा सबै कुरा चल्ने हो । इन्चार्जलाई उन्मुक्ति दिएर तल्लो दर्जाका कर्मचारीमात्रै तानिनु गलत हो ।’

ती अधिकृतका अनुसार जिल्ला तानिएका १७ जना प्रहरीको पनि माथिल्लो तहमा कोही भएको भए कारबाहीमा पर्ने थिएनन् । उनले भने, ‘जवान र हवल्दारहरुको को हुन्छ र ? उनीहरुको पहुँच माथिसम्म पुग्दैन, त्यसैले कारबाहीमा परे । डिआइजीको पावरमा आएका सई खत्रीलाई कस्ले छुन सक्ने ? उनीहरुमाथि अन्याय भएको छ । एसपी अधिकारीले इन्चार्जलाई पनि तानेको भए बल्ल न्यायपूर्ण ब्यवहार गरेको मानिन्थ्यो ।’

प्रहरी अधिकारीले १७ जनाले गल्ती गर्दा इन्चार्ज चोखो रहन नसक्ने पनि बताए । ‘यदि न्यायपूर्ण र विधिसम्मत कारबाही गर्ने हो भने पहिले इन्चार्जलाई कारबाही गरिनुपथ्र्यो, यो त पुरै विभेदकारी ब्यवहार भयो,’ ती प्रहरी अधिकारीले भने । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका डिएसपी न्यौपानेले जमुनाहका १७ जना प्रहरीलाई समयावधि पुगेकाले जिल्ला प्रहरी कार्यालयमा तानेर नयाँ टोली पठाएको दावी गरे ।

विधि र नियमसंगतमा ती १७ जना प्रहरी तानिएका भने होइनन् । छड्के चेकजाँचमा जाँदा भारत घर फर्केका नेपालीबाट पैसा लिएकाले कारबाही गरेकै कारण इन्चार्जले उन्मुक्ति पाउनु र जवान तथा हवल्दारहरुले कारबाही भोग्नु न्यायपूर्ण नभएको प्रहरी वृत्तमै चर्चा चल्न थालेको छ । जमुनाह इन्चार्ज पठाउन लुम्बिनी प्रदेशमा जो डिआइजी आउँछ उसैले पठाउँछ । जमुनाह ईलाका प्रहरी इन्चार्ज डिआइजीको ‘भाग’ स्वरुप छुट्याइएको हुन्छ ।

डिआइजीको ‘भाग’ स्वरुप नै यतिबेला पनि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यका विश्वास पात्रका रुपमा रहेका सई खत्रीलाई जमुनाहमा इन्चार्जको जिम्मेवारी दिएर खटाइएको थियो । उनी डिआइजी निकट भएकै कारण बाँके नेतृत्वले जिल्ला तान्न नसकेको पनि प्रहरीभित्र चर्चा चलेको छ । यसअघि पनि तत्कालिन डिआइजी रविन्द्र धानुकले सिधै सई विष्णु गिरीलाई इन्चार्ज पठाएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १६:२३