सूचनाको शक्ति - The Power Of Information

        

अपराध

सुदूरपश्चिममा भयावह बन्दै ‘आत्महत्या’

धनगढी । सुदूरपश्चिम प्रदेशमा आत्महत्याले भयावह रुप लिँदै गएको छ । प्रदेशमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । गत पाँच वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ ।

मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशाका कारण आत्महत्या हुने गरेको प्रहरी बताउँछ । पछिल्ला पाँच वर्षमा सुदूरपश्चिमका ९ जिल्लामा २ हजार ६४५ जनाले आत्महत्या गरेको विवरण प्रहरीले दिएको छ । यो तथ्यांकले प्रदेशमा औसतमा दैनिक २ जनाले देहत्याग गरेको देखाउँछ ।

पाँच वर्षको तथ्यांक

गत आव ०७७/०७८ मा मात्रै सुदूरपश्चिममा ६८२ जनाले आत्महत्या गरेका छन् । यसैगरी आव २०७६/०७७ मा ५३९ जनाले आत्महत्या गरेका छन् । आव २०७३/०७४ मा भने सबैभन्दा कम ४३२ जनाले आत्महत्या गरेको तथ्यांक छ । आव २०७५/०७६ मा ४९० ले र २०७४/०७५ मा ४९९ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ ।

यस्ता छन् आत्महत्याका कारण

आत्महत्या गर्नुको पछाडि मानसिक समस्या नै भएको धनगढीका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाले बताए । ‘विभिन्न अध्ययनले देखाएअनुसार ६० देखि ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोग हुन्छ,’ उनले भने, ‘पूरै त नियन्त्रण गर्न निकै चुनौतिपूर्ण छ । तर मानसिक स्वास्थ्यको ख्याल राख्यौं भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।’ आत्महत्या बढ्नुमा व्यक्ति मानसिकरुपले विक्षिप्त हुनु नै प्रमुख रहेको प्रहरीको बुझाई छ ।

‘एक सेकेण्डको निर्णयले मानिस आत्महत्या गर्न पुग्छ । तर, हामीले हेर्दा आत्महत्याको प्रमुख कारण मानसिक विक्षिप्तताको अवस्था हो,’ जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले भने, ‘कतिपय आत्महत्या आवेशमा गरिएको देखिन्छ भने कतिपय नशासेवन गरेको अवस्थामा गरेको देखिन्छ । कतिपय सम्बन्ध तथा आर्थिक कारणले भएको देखिन्छ ।’

सबै जिल्लामा बढ्दो

कैलालीमा सबैभन्दा बढी २६१ जनाले एक वर्षमै देह त्यागेका छन् । यस्तै कञ्चनपुरमा १९५, अछाममा ४४, बैतडी र डडेल्धुरामा ४३÷४३ जनाले आत्महत्या गरेका छन् । बझाङमा ३६, डोटीमा २३, दार्चुलामा २२ र बाजुरामा १५ जनाले गत वर्ष आत्महत्या गरेको सुदूरपश्चिम प्रहरीको तथ्यांकले देखाएको छ ।

रोक्ने उपाय

चिकित्सकले मानसिक समस्याको समयमै उपचार गर्न सके आत्महत्यामा कमी आउने बताएका छन् । सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ बिरामीलाई उचित मानसिक परामर्श र उपचार दिनुपर्ने उनीहरू सुझाव दिन्छन् । मानसिक विचलन आए परिवारले मानसिक उपचार तथा परामर्शका लागि मनोचिकित्सक कहाँ लैजान सुझाउँछन् उनीहरू । कतिपय भने कारणबारे अध्ययन गरी नियन्त्रण प्रयास नगरिँदा पनि आत्महत्या रोक्न कठिन भएको बताउँछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १०:२४