सूचनाको शक्ति - The Power Of Information

        

विकासमा समृद्धि

कोरोना कहरमै बैजनाथ गाउँपालिकामा १२ किलोमिटर सडक निर्माण

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना कहरकै बीचमा पनि विकास निर्माणलाई तीब्र बनाएको छ । गाउँपालिकाले विकासको गतिलाई तीव्र पार्दै ४ हजार मिटरभन्दा बढी सडक कालोपत्रे गर्नुका साथै १२ हजार मिटर सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जानकारी दिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा हासिल गरेको प्रगतिका बारेमा जानकारी दिँदै गाउँपालिकाका लेखा अधिकृत पुर्णप्रसाद जैशीले गाउँपालिकामा पूर्वाधारतर्फका १२५ योजनामध्ये सबैभन्दा बढी ९७ वटा योजनाहरू उपभोक्ता समूहमार्फत र २७ वटा योजनाहरू टेन्डर ठेक्कामार्फत सम्पन्न भएको जानकारी दिए ।

गाउँपालिकाले दिएको जानकारीअनुसार १२ हजार ४१७ मिटर सडक ग्राबेल गरेको र २०० मिटर सडक पीसीसी निर्माण गरेको जनाइएको छ । सोही योजनाअन्तर्गत टेन्डर ठेक्काबाट सम्पन्न भएका २२ वटा योजनाबाट ४ हजार १०० मिटर सडक कालोपत्रे गर्नुका साथै ११ हजार ८७१ मिटर सडक स्तरोन्नति (कालोपत्रे गर्ने अवस्थाको) गरिएको छ ।

यसैगरी उपभोक्ता समितिमार्फत भवन पूर्वाधारमा १३ वटा भवन निर्माण तथा मर्मत सम्पन्न गर्नुका साथै ठेक्का टेन्डरबाट २ वटा भवन निर्माण गरेको, १ हजार २४६ मिटर पक्की नाली निर्माण गर्नुका साथै खानेपानी र सरसफाइतर्फ सातवटा योजनामा ३ हजार ७६८ मिटर पाइप बिछ्याउँदै ३० वटा धारा वितरण गरेको छ ।

गाउँपालिकाले कृषि सिँचाइका नौवटा योजनामार्फत २०५ मिटर पक्की सिँचाइ कुलो निर्माण गरी किसानलाई २० वटा समरसिएबल पम्प वितरण, पुल, कल्भर्ट र झोलुङ्गे पुल १२ वटा योजनामध्ये ९ वटा उपभोक्ता समितिबाट र तीनवटा टेन्डर ठेक्काबाट सम्पन्न गरेको गरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०८:२४