सूचनाको शक्ति - The Power Of Information

        

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, अध्यक्षमा अधिकारीको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन आज (बिहिबार) काठमाडौंमा सुरु हुने भएको छ ।

१६ गतेसम्म चल्ने सम्मेलनले क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने छ । यस अघिको सम्मेलनमा निर्वाचनद्धारा नेतृत्व चयन गरेपनि २२ औं राष्ट्रिय सम्मेलनमा भने सहमतिको आधारमा नेतृत्व चयन हुने बुझिएको छ ।

क्रान्तिकारीको आगामी अध्यक्षमा महासचिव उत्तम अधिकारी, उपाध्यक्षहरु पंचा सिंह, दिपक देवकोटा, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारीको दावी रहेको छ ।

अध्यक्षका प्रत्यासीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा छुट्टाछुट्टै बोलाई संगठनका विषयमा छलफल गरेका थिए । प्रचण्डले विद्यार्थी नेताहरुसँग संगठनको आगामी कार्ययोजनाको खाका मागेको छलफलमा सहभागीले बताए ।

नेकपा विभाजन पछि आफ्नो पुरानै संरचनामा फर्किएको क्रान्तिकारीमा गुटबन्दि बढेको सोहि संगठनका नेता कार्यकर्ताको निश्कर्ष छ ।

गुटबन्दीले कमजोर बनाएको संगठनलाई गुटबन्दी नगर्ने छवि भएका नेतालाई नेतृत्वमा अगाडी सारेर माओवादीले आफ्नो भातृ संगठनलाई बलियो बनाउन खोजेको देखिन्छ ।

सो विकल्पमा महासचिव उत्तम अधिकारी अगाडी देखिएका छन् । पछिल्लो समय अधिकारीको पक्षमा माओवादी अध्यक्ष प्रचण्ड समेत सकारात्मक रहेको स्रोतले बताएको छ ।

अध्यक्षका अन्य दावेदारहरु पनि आफ्नो सम्भावना बलियो रहेको बताउछन । देशभरबाट करिब नौ सय जना प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन कमलादी र बन्द सत्र बानेश्वरमा हुने क्रान्तिकारीले बताएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०७:५४