बझाङ । बझाङको सेती नदी किनारमा बुधबार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ ।
त्यो शव बझाङको तलकोट गाउँपालिका–३ बस्टिकी २६ वर्षीया धनलक्ष्मी भण्डारी, रोकायाको भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
धनलक्ष्मी असोज ८ गते रातीबाट सम्पर्क विहिन भएपछी जिल्ला प्रहरी कार्यालय र जिल्लाका संचार माध्याममा सुचना समेत जारी गरेको आफन्तले बताएका छन् ।
भण्डारी आज दिउसो २ बजे बझाङको जयपृथ्वी नगरपालिका– १० पानकोट स्थित पुलको मुनी सेती नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।
धनलक्ष्मी असोज ८ गते राती घरबाट एक्कासि बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतक महिलाका श्रीमान भारत बस्दै आएका र २ छोरा घरमै रहेको प्रहरीले बताएको छ । शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत पठाएको र घटना बारे थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।
।