सूचनाको शक्ति - The Power Of Information

        

२२ औं विश्व मुटु दिवस नेपालगञ्जमा मनाइयो

बाँके । नेपालगञ्जमा बुधबार २२ औं विश्व मुटु दिवस मनाईएको छ । नेपालगञ्ज साइक्लिङ क्लवको आयोजना तथा क्रिएटिभ ह्याण्ड्सको सहकार्यमा दिवस मनाइएको हो ।

भेरी अस्पताल सञ्चालक समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालका मुटुरोग विशषज्ञ डा. कृष्ण अधिकारीले मुटु दिवसको औचित्य लगायतबारे चर्चा गरेका थिए । मुटु स्वस्थ राख्न नियमित दैनिक ३० मिनेट व्यायाम जरुरी रहेको र साईक्लिङ त्यसको राम्रो माध्यम भएको उनले बताए ।

कार्यक्रममा भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया लगायतको सहभागिता रहेको थियो ।

दिवसकै अवसरमा भेरी अस्पतालबाट साइकल र्याली शुरु भएर त्रिभुवन चोक, त्रिवेणी मोड, शहिद सेतु बिक चोक, बासपार्क, बाइपास रोड, कारकाँदो चोक, पुष्पलाल चोक, धम्बोझी चोक, विपी चोक हुँदै औद्योगिक क्षेत्र नजिक रहेको नेशनल प्याथ ल्याबमा पुगेर समापन भएको थियो ।

दिवसका अवसरमा नेशनल प्याध ल्याबले मुटु सम्बन्धी निःशुल्क जाँचको व्यवस्था पनि गरेको नेपालगञ्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १६:२७