सूचनाको शक्ति - The Power Of Information

        

भाटभटेनीको बदमासी

उपभोक्ताको स्वास्थ्यमाथि भाटभटेनी खेलबाड, बेकरी उद्योग अवैध सञ्चालनमा

बाँके । देशभर स्तरीय सेवा दिने दावी गर्दै आएको भाटभटेनी सुपरमार्केट नेपालगन्जले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ । भाटभटेनीको नेपालगन्ज शाखाले म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको हो । गुणस्तरीय वस्तु बिक्री हुने विश्वासका साथ भाटभटेनीमा खरिदका लागि जाने उपभोक्ताहरुलाई म्याद गुज्रेका खाद्यवस्तु बिक्री गर्दै आएको छ ।

सुपरमार्केटमा बिक्रीका लागि उत्पादन हुने बेकरी जति सबै म्याद गुज्रेर खान नमिल्ने अवस्थामा भए पनि बिक्री वितरण हुँदै आएको खुलेको छ । मंगलबार उपभोक्ता हित संरक्षण समितिले नेपालगन्ज भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको बिक्री हुने आशंकाले गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका बेकरी उत्पादन बिक्री हुँदै आएको पाइएपछि ठूलो परिमाणमा अखाद्य बेकरी बरामद भएको छ ।

अनुगमनका क्रममा भाटभटेनीको बेकरी उद्योग पनि अवैधरुपमा सञ्चालन भएको पाइएको छ । नेपालगन्जको सुर्खेत रोडस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अगाडिको घरमा उद्योगको कुनै पनि बोर्ड नराखी सञ्चालन गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको छ । अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाडौंबाट ल्याइएको र सबैको म्याद गुजे्रको अवस्थामा भेटिएको जानकारी दिए ।

जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा नेपालगन्ज–१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रालि चुच्चेपाटी काठमाडौ’को नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुजे्रको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विवेककुमार सुवेदीले बजार अनुगमनका क्रममा नेपालगन्ज बजारका केही होटल तथा सपिङ मलमा यस उद्योगको उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाइएको बताए । उनले भने, ‘काठमाडौंमा दर्ता रहेको उद्योगले बाँकेमा घरेलुमा मात्र दर्ता भएको छ । खाद्य अनुज्ञापत्र पनि छैन ।’

उनले उद्योगबाट उत्पादन भएका सामानमा उत्पादन मिति तथा प्रयोग गर्ने मिति उल्लेख समेत नभएको जानकारी दिए । ‘हिजोदेखि खोजी गर्दा बल्ल उद्योग भेटियो, उद्योगमा हेर्दा बेकरी उत्पादनमा प्रयोग हुने सबै सामग्री म्याद नाघेका मात्र छन्,’ खाद्य अनुसन्धान अधिकृत सुवेदीले भने । उनले उद्योगले म्याद गुजारेको कच्चा पदार्थ प्रयोग गरी बेकरी उत्पादन नगरेको बताए ।

खोजी गर्दै जाँदा सुर्खेत रोडमा उद्योगको कुनै बोर्ड नराखी, खाद्य अनुज्ञापत्र समेत नलिएर सञ्चालनमा रहेको अवस्थामा गोदाम भरी प्रयोगका म्याद गुजारेका बेकरी उत्पादन गर्न आवश्यक पर्ने कच्चा भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनको भनाइ छ । उक्त बेकरी उद्योगबाट उत्पादन हुने बेकरी आईटम नेपालगन्जको भाटभटेनी सुपरमार्केट र रोयल क्याफेमा विक्री वितरण हुँदै आएको थियो ।

उद्योगले मानव स्वास्थ्यमा नै गम्भीर असर पर्ने खालको गुणस्तरहीन सामान प्रयोग गरेर बेकरी उत्पादन गर्ने कम्पनी र बिक्री गर्ने नेपालगन्जको भाटभटेनी सुपरमार्केट र रोयल क्याफेलाई पनि अनुसन्धानको घेरामा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका प्रभात ठकुरीले बताए । उद्योगलाई उपभोक्ता हित विपरित सञ्चालन गरेको अभियोगमा २ लाख जरिवाना गरिएको छ ।

बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डोनट र सो बनाउने म्याद गुजारिएको अवस्थाका कच्चा पदार्थ २ लाख २२ हजार ६७ रुपैया बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको छ । सबैभन्दा विश्वासिलो भनिएको भाटभटेनीमै यस्तो अखाद्य वस्तु बिक्री हुने गरेको पाइएपछि उपभोक्ता सशंकीत बनेका छन् । गुणस्तरीयताका नाममा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउने अखाद्य वस्तु बिक्री वितरण हुँदै आएको पाइएपछि अन्य वस्तुमा पनि शंकाको नजरले हेर्नुपर्ने अनुगमन समितिले निष्कर्ष निकालेको छ ।

अपरक्रष्ट प्रालि नेपालगन्ज शाखाका प्रबन्धक विपुल बमले कारखानामा सप्लायर्सले भुलबस म्याद गुजारेको कच्चा पदार्थ पठाएकोले आफूहरुले सबै सामान फिर्ता पठाउने तयारी गर्दै गर्दा संयुक्त अनुगमन समितिले फेला पारेको दाबी गरे । कारखानामा बेकरी उत्पादनको लागि प्रयोगमा आउने सामग्रीहरु नै म्याद गुजे्रकोे बरामद भएपछि सबै उत्पादन नष्ट गर्नको लागि भाटभटेनी सुपरमार्केट तथा अन्य स्थानबाट बेचबिखन रोकेर फिर्ता उठाउन निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ११:४२