सूचनाको शक्ति - The Power Of Information

        

पूर्व मन्त्री वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।

नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।

पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​

जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि उनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०८:११