सूचनाको शक्ति - The Power Of Information

        

चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा

काठमाडौं ।  निलम्बित सहसचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्।

कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा ंलाभ पुग्ने कर छुट दिएको अभियोग लागेका शर्मा सोमबार विशेषले मागेअनुसार ५० लाख धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्रीका अनुसार शर्मा सोमबार नै अदालतमा हाजिर भएका हुन्। विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई मनलागी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख घाटा हुने गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अध्यक्ष महत र सदस्य ढकाल आइतबार अदालत उपस्थित भएर ५० लाख नै धरौटी बुझाएर रिहा भएका छन्।

आयोगले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्याएको अभियोग दाबी छ।

अख्तियारले २०७४ सालमा पनि कर फछ्र्यौट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दालाई मुल मुद्दामानि अख्तियारले असारमा पुरक मुद्दाका रुपमा १ अर्ब ३३ करोड, २० लाख ३८५ भ्रष्टाचार दाबी गर्दै मुद्दा दायर गरेको हो।

विशेष अदालतबाट सोमबार जारी आदेशमा उल्लेख गरिएको छ, ‘प्रतिवादी उपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४/८/१५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादी उपर दायर प्रस्तुत पुरक आरोपपत्रबाट श्रृजना हुन सक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जादा ठहरे बमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चुडामणी शर्मा ढकाल बाट रु ५०,००,००० (पचास लाख रुपैयाँ) घरोट माग गरिएको छ।’

यस्तो छ विशेष अदालतको आदेश

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १७:५३