सूचनाको शक्ति - The Power Of Information

        

सीमाबाट खुलेआम तस्करी

भारतबाट राँगा तस्करी, एक्सनमा प्रहरी

बाँके । नेपाल–भारत खुला सीमा रहेको बाँकेमा राँगा तस्करी मौलाउन थालेको छ । बाँकेमा राँगा तस्करी मौलाउन थालेपछि प्रहरी एक्सनमा उत्रिएसँगै राँगा नियन्त्रणमा लिएको हो । प्रहरीले नेपालगन्जबाट एक लाख पचास हजार रुपैयाँ मूल्यका राँगा नियन्त्रणमा लिएपछि भारतबाट अवैधरुपमा राँगा तस्करी भइरहेको खुलेको हो ।

आज शनिबार विहान ९ बजे नेपालगन्ज–१ बाट बेवारिसे अवस्थामा रहेका ६ वटा राँगा नियन्त्रणमा लिएसँगै भारतबाट राँगा तस्करी भइरहेको खुलेको छ । भारतका विभिन्न सीमावर्ती गाउँबाट संकलन गरेर अवैधरुपमा नेपाल ल्याइएका राँगा प्रहरी निगरानीमा परेपछि तस्करले ती राँगाहरु बेवारिसे छाडेर भागेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार भारतका सिमावर्ती गाउँबाट चरिचरणको लागि दशगजामा ल्याउने र सजिलै नेपाल प्रवेश गराउँदै राँगाको तस्करी हुँदै आएको छ । भारतीय सीमावर्ती नाकाबाट सजिलै चरीचरणका लागि ल्याएजस्तो गरी नेपाल प्रवेश गराउने र दिनभरी विभिन्न गाउँमा बाँधेर राख्दै रातीराती मात्र हिँडाउने गरेको प्रहरी स्रोतले बतायो ।

प्रहरी स्रोतले सत्यपाटीलाई भन्यो, ‘भन्सार र क्वारेन्टाइन समेत नगरी आवतजावत नहुने भएकाले चरीचरणका लागि भन्दै पछिल्लो समयमा तस्करहरुले भारतीय सीमावर्ती क्षेत्रमा राँगा संकलन गरी नेपाल–भारत सीमा क्षेत्रबाट अवैधरुपमा राँगा नेपाल भित्र्याएको सूचना आएपछि झण्डै ४ घण्टापछि राँगा नियन्त्रणमा लिइएको हो ।’

तस्करहरुले भारतबाट बाँके जिल्लाका विभिन्न नाका हुँदै नेपालगन्ज भित्र्याइएका राँगा दाङ्ग, बुटवल, चितवन का मुख्य शहरहरुमा मात्रै नभएर काठमाडौंसम्म पुर्याउँदै आएका छन् । पछिल्लो समयमा तस्करहरुले भारतीय सीमावर्ती क्षेत्रमा राँगा संकलन गरी नेपाल ल्याएर भन्सार तथा पशु क्वारेन्टाइनबाट कागजपत्र मिलाएर राँगा तस्करी गर्दै आएका छन् ।

राँगा तस्करी भइरहेको सूचना आएसँगै प्रहरीले निगरानी बढाइपछि राँगा तस्करीमा संलग्न व्यक्तिहरु भने भागेको बताउँदै प्रहरीले उनीहरुको खोजी भइरहेको पनि जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका राँगा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा बुझाएको प्रहरीद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १५:२९