सूचनाको शक्ति - The Power Of Information

        

पुल निर्माण नभएपछि तुइनकै सहारा

फाइल तस्वीर

हुम्ला । सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकाका नागरिक कर्णाली नदी वारपार गर्न तुइनकै सहारा लिइरहेका छन् । झोलुङ्गे पुल तीन वर्षसम्म निर्माण हुन नसक्दा गाउँपालिका केन्द्र याङ्चु बजारमा जान यसरी तुइन तर्नुपर्ने बाध्यता आएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले पुल नभएपछि बिहान १० बजे कार्यालय जान र बेलुका घर फर्कन तुइन तर्नुपर्ने बाध्यता रहेको बताए । खार्पुनाथ गाउँपालिका–४ मा स्थायी घर भएका उनी एक महिनाअघि सरुवा भएर गाउँपालिकामा आएका थिए ।

एक घन्टा टाढाको माझगाउँमा रहेको घरबाट पैदल हिँडेर कर्णाली नदीमा बनाइएको तुइन चढेर कार्यालय जानुपर्ने बाध्यता रहेको उनले बताए । बर्खामा उर्लिएको कर्णालीमाथि तुइनमा झुन्डिन डर लागे पनि अरू विकल्प नरहेको उनको भनाइ छ । कार्यालयमा बस्ने बासको व्यवस्था नभएकाले उनी घरबाटै आउजाउ गर्दै आएका छन् ।

छिप्रा गाउँ स्थायी घर भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल पनि तुइनकै भरमा कार्यालय जाने गर्छन् । उनी निर्वाचनमा विजयी भएदेखि सोही तुइनबाटै गाउँपालिका कार्यालयमा आउजाउ गर्दै आएका छन् । उनी दुई जनामात्र नभई यस गापाअन्तर्गत वडा नम्बर २, ३ र ४ का सेवाग्राही र कर्मचारीले पनि तुइनकै भरमा गाउँपालिका जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार ०९:०८