सूचनाको शक्ति - The Power Of Information

        

छाना मर्मत नहुँदा चौरमा पढाइ

फाइल तस्वीर

सल्यान । हावाहुरीले उडाएका छाना मर्मत नहँुदा यहाँका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइमा समस्या भएको छ । वनगाड कुपिण्डे नगरपालिका–१ र कालीमाटी गाउँपालिका–४ मा रहेका प्राथमिक विद्यालयहरूका छाना पुनर्निर्माण नहँुदा पढाइमा समस्या भएको हो ।

छाना उडाएको पाँच महिना भइसक्दा पनि वनगाड कुपिण्डे नगरपालिका–१, बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालयको छाना मर्मत भएको छैन । गत चैतमा आएको हावाहुरीले विद्यालयको छाना उडाएको थियो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले आन्तरिक स्रोत नभएको र जीर्ण भवन निर्माणका लागि नगरपालिकामा आग्रह गरेको तर कुनै सुनुवाइ नभएको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश बुढाले छाना नहुँदा विद्यार्थीलाई खुला चौरमा पढाउनुपर्ने बाध्यता रहेको बताए । उनले घामपानीले दिन प्रतिदिन भवन जीर्ण बन्दै गएको र वर्षाको पानीले काठ कुहिँदै जाने हुँदा भवन ढल्ने अवस्थामा पुगेको उल्लेख गरे । यस्तै कालीमाटी गाउँपालिका–४, छापडाँडामा रहेको जनचेतना प्राथमिक विद्यालयको छाना पनि गएको जेठमा हावाहुरीले उडाएको थियो ।

अहिलेसम्म पुनर्निर्माण भएको छैन । प्रधानाध्यापक हिमलाल भण्डारीले दुईकोठे भवनको छाना मर्मतका लागि गाउँपालिकामा पत्र पठाए पनि मर्मतको काम अगाडि बढ्न नसकेको बताए । उनका अनुसार हावाहुरीले भवनको छाना र भित्तासमेत भत्किएकाले कक्षा सञ्चालन गर्न सकिएको छैन । दुई कोठे सो भवन कामै नलाग्ने गरी बिग्रिएको छ । कक्षा कोठाको अभाव हुँदा १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार ०९:०५