सूचनाको शक्ति - The Power Of Information

        

वडा कार्यालयमा आगो झोसेका वास्तव लामिछाने अझै फरार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत १ नम्बर वडा कार्यालयमा एक युवाले आगो झोसेका छन् । कार्यालय समयमा वडाध्यक्ष कार्यकक्षमा नपुगेको भन्दै आक्रोशित युवाले आगो झोसेर फरार भएको प्रहरीले बताएको छ ।

हिजो बिहान १० बजेर ४ मीनेट जाँदासम्म वडाध्यक्ष वडा कार्यालयमा नपुगेपछि फोनमा धम्की दिएका ती युवाले वडाध्यक्षको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाईदिएको बताइन्छ । वडाध्यक्ष गंगाराम सुनारले आफूलाई कार्यालयमा नभेटेको झोकमा पेट्रोल छर्केर आगजनी गरिएको बताए ।

आफू वडाकै कामले बाहिर गएको र समयमा कार्यालय पुग्न नसकेको भन्दै उनले आगो लगाउने युवक मार्ने नियतका साथ आएको पनि दाबी गरे । वडा कार्यालयमा आगलागी गर्ने युवा सोही वडाका बासीन्दा वास्तव लामिछाने रहेको प्रहरीले जनाएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार दुई वटा मास्क र चस्मा लगाएर आएका लामिछानेले घरेलु हतियारसमेत बोकेका थिए । वडाध्यक्ष सुनारले आफूमाथि खतरा बढेको पनि बताएका छन् । लामिछानेले पहिलेदेखि नै आफ्नो घरमा गएर चियोचर्चो गर्ने गरेको चर्चालाई हिजोको घटनाले पुष्टि गरेको उनको भनाइ छ ।

‘खै कसले उचालेर गरेको हो, व्यक्तिगत रिसइवी त केही थिएन,’ भने यस्तो जोखिम मोलेर जनताको काम गर्न त सक्दिन होला !’ वडाध्यक्ष सुनारले भने । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । कुर्सी, सोफा, दराज र त्यहाँ रहेका कागजात जलेर नष्ट भएको बताइएको छ ।

आगो लगाउने लामिछानेले वडा कार्यालयमा काम लिएर नआएको पनि वडाध्यक्ष सुनारले बताए । लामिछाने अहिलेसम्म फरार रहेको र प्रहरीले खोजी गरिरहेको बताएको छ । आगो लगाउनुको कारणबारे थप जानकारीका लागि लामिछाने पक्राउ पर्नुपर्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १५:२९