सूचनाको शक्ति - The Power Of Information

        

एनएफपिजे नेपालको अध्यक्षमा वन्त निर्विरोध

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त र नवराज श्रेष्ठसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ ।

काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने केन्द्रीय कमिटीले २ जना केन्द्रीय सदस्य मनोनित गर्ने जनाइएको छ ।

राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ रहेका छन् ।

त्यस्तै कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ र सचिव रिपोर्टस नेपालका मुकुन्द कालिकोटेलाई चयन गरिएको छ । त्यस्तै केन्द्रीय सदस्यहरूमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइन खबरका आर्यन धिमाल, थाहाखवरकी शिला तिमिल्सिना, नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र २०७७ वाट मनोरन्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ सोभा महर्जन र प्रदीप शाक्य र साहसिकतर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठलाई प्रमाण पत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।

पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटोपत्रकार सुशीलकुमार श्रेष्ठलाई नगद रु १० हजारसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंशी, पूर्व अध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राखेका थिए । निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाजसेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्वअध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ११:०९