सूचनाको शक्ति - The Power Of Information

        

सरकारले चाडपर्वलक्षित अनुगमन आजदेखि गर्ने

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी आजदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् ।

गएको असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उहाँका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।

यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।

यस्तै विभागले, नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक हप्ताको सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ ।  काठमाण्डौ महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ ।

अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार अनुगमन गर्न सामान्य प्रशासन मन्त्रालयबाट १०/१२ जना कर्मचारी थपिएका छन् ।

दशैँमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ०८:२८