सूचनाको शक्ति - The Power Of Information

        

४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच निशुल्क

काठमाडौं । सरकारले ४० वर्ष उमेर समूहमाथिका सबै नागरिक ६५ लाख ३७ हजार ३२९ जनाको निशुल्क पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडावडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.कृष्ण पौड्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० बर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४५० रुपैयाँ लाग्ने जानकारी दिए ।

उनले पूर्व रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि ध्यान दिएको जानकारी गराए । सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्षमाथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो ।

सोही नीति कार्यान्वयन स्वरुप ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो । छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरुलाई डायलासिस गर्न प्रयाप्त मेसिन नरहेको बताए । उनले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १७:२५