सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा कोरोना सङ्क्रमण दर घट्यो, मृत्यु हुने क्रम भने रोकिएन

बाँके । बाँकेमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गए पनि भेरी अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितको मृत्यु हुने क्रम भने जारी नै छ । कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार दैनिक एक/दुई जनाको दरले भेरीमा उपचाररत सङ्क्रमितको मृत्यु भइरहेको छ ।

गत तीन दिनको अवधिमा बाँकेका दुईसहित पाँचजना सङ्क्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्रका अनुसार आइतबार अस्पतालमा बाँके खजुराका ६० वर्षीया महिला र बर्दिया मधुवन–२ का ४२ वर्षीया महिलाको मृत्यु भएको थियो भने मङ्गलबार पनि बाँके खजुराकी ७५ वर्षीया महिला र दाङ तुलसीपुका ८२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

त्यसैगरी, मङ्गलबार बर्दिया मधुवनका ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका ‘फोकल पर्सन’ तेज ओलीले बताए । उनले जिल्लामा सङ्क्रमित फेलापर्ने क्रम दैनिक १० जनाभन्दा कममा झरेको भए पनि उपचाररत सङ्क्रमितमध्ये दैनिकजसो दुई जना वा एक जनाको मृत्यु भइरहेको बताए ।

मृत्यु हुनेमा केही सङ्क्रमित दुई महिनाभन्दा बढी समयदेखि उपचार गराइरहेका समेत रहेको फोकल पर्सन ओलीले बताए । कोरोनाबाट मृत्यु हुने बाँके जिल्लाका नागरिकको सङ्ख्या ३३२ जना पुगेको छ भने उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४१५ जना सङ्क्रमितको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ०८:०७