काठमाडौं । यातायात व्यवस्था विभागले रोकिएका सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन गरेको १५ दिन भयो । विभागले परीक्षा सञ्चालन गर्नुअघि नै दुई सातामा स्मार्ट कार्ड आइपुग्ने जनाएको थियो । तर, अझै स्मार्ट कार्ड आएको छैन । विभागले समयमा स्मार्ट कार्ड ल्याउन नसक्दा सवारी चालकले सहजै लाइसेन्स पाउन सकिरहेका छैनन् ।
यस्तै, नयाँ आवेदन खुलाउन विभागले आलटाल गरिरहेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार नयाँ आवेदन खुलाउने प्रक्रिया छलफलमै छ । ‘नयाँ आवेदन नखुलाउँदै विभागमा छाप्नुपर्ने लाइसेन्स थपिँदै छन् । यसले विभागलाई थप भार थपिएको छ त कसरी नयाँ आवेदन खुलाउनु ?’ महानिर्देशक घिमिरेले भने ।
महानिर्देशक घिमिरेका अनुसार विभागले खरिद गरेको स्मार्ट कार्ड पनि आइपुगेको छैन । दुई सातामा स्मार्टकार्ड आउने भने पनि समयमा कार्ड आएन । यद्यपि, नयाँ आवेदन खुलाउनेबारे छलफल भइरहेको छ । अहिले नै कहिले नयाँ आवेदन खुलाउनेबारे भन्न सकिने अवस्था नरहेको पनि महानिर्देशक घिमिरेले बताए ।
विभागका अनुसार प्रतिघण्टा ४५० वटा लाइसेन्स छाप्ने क्षमताको मेसिन छ । मेसिनको क्षमताअनुसार दैनिक नौ हजारवटा लाइसेन्स छाप्न सकिन्छ । ‘एक दिनको हिसाब अनुसार विभागले एक महिनामा दुई लाख लाइसेन्स छाप्न सक्छ । तर, अहिलेसम्म स्मार्ट कार्ड आइनसक्दा छाप्ने मेसिन बन्द छ,’ उनले भने ।
उनका अनुसार एक वर्षमा १० लाख सवारी चालकलाई लाइसेन्स वितरण गर्नुपर्ने हुन्छ । ‘तर, विविध प्राविधिक कारणले गर्दा भनेजति लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न सकिरहेका छैनौँ । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा पुराना लाइसेन्सको परीक्षा सञ्चालन भइरहँदा विभागमा चाप बढेको छ,’ महानिर्देशक घिमिरेले भने ।
विभागसँग लाइसेन्स छाप्ने एउटा मात्रै मेसिन छ । त्यो मेसिन बिग्रिए छपाइ रोकिन्छ । विभागले लाइसेन्स परीक्षा उत्तीर्ण गरिसकेका सवारी चालकहरूलाई रातो रसिदलाई लाइसेन्सका रूपमा वितरण गर्छ । तर, उक्त रातो रसिदलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले मान्यता दिँदैन ।
विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा पनि चालकहरू थप मारमा परेका छन् । पुराना आवेदकको परीक्षा सञ्चालन सुरु हुने बेला विभागले नयाँ आवेदन असोज पहिलो सातादेखि खोल्ने जनाए पनि अझै खुलाइएको छैन । विभागले स्मार्ट कार्ड नआउँदा र पुरानै आवेदकको भार कम नभएको भन्दै दसैँपछि मात्रै नयाँ आवेदन खुलाउन सकिने जनाएको छ ।
महानिर्देशक घिमिरे भन्छन्, ‘कोरोना महामारीका कारण रोकिएका पुराना ६ लाख आवेदकहरूको परीक्षा अहिले सञ्चालन भइरहेको छ । यसै त विभागलाई पुरानै भार छ, पुराना आवेदकहरूको परीक्षाहरू सञ्चालन भएको बल्ल १५ दिन हुँदैछ । उक्त परीक्षाहरू असोज महिनाभरि सञ्चालन गरी त्यसपछि मात्रै नयाँ आवेदन खुलाउने कि भन्ने छ ।’ उनले सम्भवतः दसैँपछि नयाँ आवेदन खुलाउन सकिने जानकारी दिए ।
‘छलफल भइरहेको छ । औपचारिक निर्णय भने हुन सकेको छैन । एक महिनाभित्रमा स्मार्ट कार्ड आइपुग्नेछ । त्यसपछि विभागमा लाइसेन्स छापिन सुरु हुन्छ,’ महानिर्देशक घिमिरेले भने । विभागले रोकिएका परीक्षा सञ्चालन गरेपछि एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेको छ । लाइसेन्सका लिखित र ट्रायल परीक्षा उत्तीर्ण गरेका सवारी चालकहरूलाई सहजै लाइसेन्स दिन विभागले अरू विकल्प खोजिरहेको जनाएको छ ।
।