काठमाडौं । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । यो तथ्याङ्क २०७६ जेठ ३१ देखि गएको भदौ १० गतेसम्मको हो । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपैयाँ भएको छ ।
यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ बढेको छ । यस्तै २०७६ जेठ ३१ गते प्रतिलिटर भुटेको तोरीको तेल २२० भएकोमा गएको भदौँ १० गते प्रतिलिटर ३६० रुपैयाँ पुगेको छ । अहिले भुटेको तोरीको तेल प्रतिलिटर ३९० रुपैयाँ छ भने काँचो तोरीको तेल, सनफ्लावर, भटमासको तेलमा प्रतिलिटरमा १० देखि २० रुपैयाँ बढेको छ ।
सङ्घका अनुसार २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपैयाँ, भएकोमा गएको गएको भदौ १० गतेसम्म तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपैयाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपैयाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ बढेको छ ।
२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुगमनपछि बारामा रहेका दुई तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले तीन÷तीन लाख रुपैयाँजरिवाना गर्दै मूल्य घटाउन निर्देशनसमेत दिएको थियो । विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरेको थियो ।
विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिए पनि उद्योगीले पत्रमा मात्र घटाएको तर उपभोक्ताले घटेको अनुभव गर्न नपाएको खुद्रा व्यापारी विमल थापाको बुझाइ छ । विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेल मूल्य निर्धारण गर्ने अधिकार निजी क्षेत्रलाई हुँदासम्म तेलको मात्रै होइन अन्य सामानको मूल्य वृद्धिको समस्या भोगिरहनुपर्ने बताए ।
उनले भने, ‘उत्पादकदेखि खुद्रा व्यापारीसम्मले २० प्रतिशत नाफा खान पाउने व्यवस्था कानुनमै छ । हामीले अनुगमन गरेर हेर्दा कानुनविपरीत छैन । त्यो नभएपछि कारबाही गर्न पनि मिल्दैन, बजारमा मूल्य बढेर उपभोक्ता मारमा परेका छन्, हामी निरीह भएर बस्नुपरेको छ ।’ तेलको मूल्य वृद्धि हुनुपर्ने कुनै कारण नहुँदा पनि भाउ बढिरहेकोमा आश्चर्य प्रकट गर्दै उनले मूल्य निर्धारण र बजार तहको व्यवस्थापन गर्ने अधिकार सरकारीस्तरबाट नभएका कारण यस्तो समस्या भएको बताए ।
विभागको पछिल्लो एक अध्ययनअनुसार नेपालमा रहेका कुल २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्युनतम मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गरेको पाइएको छ । लागतका कारण मूल्यवृद्धि खाने तेल उत्पादक उद्योगीले लागत नै बढी पर्न थालेकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् ।
खाने तेल उत्पादन गर्ने उद्योगको संस्था नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले सूचना सार्वजानिक गर्दै आफूहरूले कच्चा पदार्थ विदेशबाट आयात गर्नुपरेको र त्यसरी आयात गरिने कच्चा पदार्थको मूल्य दोब्बरभन्दा बढी भएकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् ।
उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायतका देशहरूबाट आयात गर्नुपर्छ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।
विगत करिब २० महिनादेखि विश्वमा फैलिएको महामारी कोभिड–१९ तथा क्रुड तेल उत्पादन हुने देशहरूमा भएको सुक्खाका कारण र अन्य भूराजनीतिक विषयहरूले गर्दासमेत खानेतेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि भएको दाबी उत्पादनक सङ्घको छ ।
ढुवानी र करले बढायो मूल्य उद्योगीका अनुसार उद्योगीले खाने तेलको कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकाले १७ महिनामा कच्चा पदार्थको मूल्यमा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सरदर २० रुपैयाँ प्रतिलिटर रहेकोमा कच्चा पदार्थको मूल्य पछिल्लो समय ४५ रुपैयाँ पुगेको छ ।
।