सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोना सङ्क्रमणको जोखिममा विद्यार्थी

काठमाडौं । कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत शैय्या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ । कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् ।

ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो । हरिबहादुर मगर आफ्ना पाँच वर्षिय छोरालाई विद्यालय पठाउन थालिसकेका छन् । ‘विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुपर्यो, मगरले भने, ‘कोरोनाको सङ्ख्या दैनिक दुई/तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठूलो डर छ ।’

सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उनलाई सताउने गरेको छ । उनको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् । खोप नलगाएका कारण उनलाई ठूलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उनले हालसम्म खोप लगाउन पाएका छैनन् ।

आफूसमेत जोखिममा रहेका बेला सानो बालकलाई विद्यालय लैजान थालेपछि चिन्ताले थप सताउन थालेको छ । यस्तै उद्धव घिमिरेकी छोरी दधिकोटस्थित अरनिको विद्यालयमा अध्ययनरत छिन् । घिमिरेलाई कक्षा १२ को परीक्षा सक्नेबित्तिकै अध्ययन नियमित सञ्चालन गर्ने सूचना आएको छ । विद्यालयमा कोरोना लागेका विद्यार्थी आउने सम्भावना रहेकाले छोरीलाई विद्यालय पठाउने कि नपठाउने दोधारमा उनी छन् ।

यस्ता कैयौँ अभिभावक, विद्यार्थी नियमित विद्यालय सञ्चालनमा आएपछि कोरोना सर्ने डरले विद्यालय जाने वा नजाने भन्ने अन्योलमा छन् । मन्त्रालयले निजी विद्यालयका सञ्चालक, अभिभावक सङ्घलगायतका सम्बन्धित पक्षसँंग छलफल गररे स्थानीय तहसंँग समन्वय गरी विद्यालय खोल्ने निर्णय गरिसकेको छ । विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता नगरी विद्यालय सञ्चालन गर्दा कोरोना फैलिने त्रास पनि त्यत्तिकै छ ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले विद्यालय सञ्चालन गर्न स्वीकृत नदिएको बताए । स्वास्थ्य संस्थासँंग समन्वय र स्थानीय तहको सिफारिसमा जनस्वास्थ्य मापदण्ड अपनाएर कम भीडभाड तथा ग्रामीण क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न सकिने विषयमा स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको उनले बताए ।

अब १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी भइरहेकोले छिट्टै खोप आउने र बालबालिकाले खोप लगाउन पाउने डा. पौडेलले बताए । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च जोखिम तथा घना बस्ती भएको ठाउँमा विद्यालय सञ्चालन गर्न नहुने बताउँदै जनघनत्व कम भएका ठाउँ तथा ग्रामीण क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न सकिने बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले अब पनि विद्यालय सञ्चालन नगरे नेपालको शिक्षा धेरै पछाडि पर्ने बताए । अहिले ५० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै उनले हुनेखानेहरूले अनलाइन शिक्षा लिने र विपन्न वर्गले नलिने गर्दा शिक्षा क्षेत्रमा ठूलो खाडल आउने बताए । अभिभावकहरूले नारा जुलुस, जात्रा गर्न हुने तर विद्यालय सञ्चालन गर्न नहुने भन्ने तर्क उचित नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार ०८:२७