बाँके । बाँके जिल्लामा नेपाली काँग्रेसको अधिवेशन गर्ने टुङ्गो नलाग्दा नेपाली काँग्रेसका कार्यकर्ताहरू निराश भएका छन् । क्रियाशील सदस्यता विवादका कारण बाँकेमा अहिलेसम्म कुनै पनि वडाको अधिवेशन हुन सकेको छैन ।
केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोके पनि बाँकेमा भने अहिलेसम्म त्यसको कुनै तयारी भइरहेको देखिएको छैन । क्रियाशील सदस्यता वितरण विवादलाई लिएर अधिवेशन अन्योलमा परेको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।
काँग्रेस बाँकेका सभापति किरण कोइरालाले अधिवेशनको टुङ्गो नलाग्दा कार्यकर्ताहरू अहिले निकै निराश भएको बताइन् । पार्टी अधिवेशन गराउने नगराउने जिम्मा केन्द्रकै भएकाले जिल्लामा अधिवेशनको कुनै तयारी नभएको उनको भनाइ छ । ‘बाँकेका क्रियाशील सदस्यको सूची अहिलेसम्म पनि अन्तिम भएको छैन, हामी कुरेर बसिरहेका छौँ,’ कोइरालाले भनिन्, ।
नेपाली काँग्रेसले बाँकेलगायत केही जिल्लामा विवाद रहेको भन्दै त्यहाँ अधिवेशन रोकेको छ । बाँकेको क्रियाशील सदस्य सङ्ख्या अझै यकिन भएको छैन । समयमा क्रियाशील सदस्यताको टुङ्गो नलाग्नु, समयमा अधिवेशन नहुनु राम्रो लक्षण नभएको नेपाली काँग्रेस बाँकेका नेता निरन्जनसिंह सिजापतिले बताए ।
नेपाली काँग्रेस आफैँले तोकिएको समयभित्र अधिवेशन गर्न नसक्दा आम कार्यकर्तामा निराशा छाएको उनले बताए । क्रियाशील सदस्यता वितरणमा देखिएको सामान्य विवादलाई केन्द्रका नेताले नै झन् विवादमा ल्याएको अधिकांशको गुनासो छ । काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृह जिल्ला बाँकेमा जिल्ला नेतृत्वका लागि धेरै आकाङ्क्षी देखिएका छन् ।
जिल्ला नेतृत्वका लागि करिब एक दर्जन नेता आकाङ्क्षी रहेको बाँके काँग्रेसले जनाएको छ । यस्तै पार्टीको तीनवटा क्षेत्रीय समितिमा पनि नेतृत्वमा आउन कडा प्रतिस्पर्धा छ । नेपालगन्ज उपमहानगरपालिका समितिमा पनि तीन जना आकाङ्क्षी रहेकोले कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
।