बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो । केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।
आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन् । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् ।
तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी मदन कुवँरले बताए ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।
।