सूचनाको शक्ति - The Power Of Information

        

व्यङ्ग्य

कमेडी च्याम्पियन–२ : ‘जज’को नजरमा आफ्नै ‘जजमेन्ट’ !

कमेडी च्याम्पियनको दोश्रो सिजन सकिएको छ । हजारौंबाट सयौं, सयौंबाट दर्जनौं, दर्जनौंबाट उत्कृष्ट तीन हुँदै बिजेता घोषणा भैसकेको छ । यो बीचमा धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेट्यौं । उनीहरुलाई आफ्नो कला, अनुभव सुनाउने र उनीहरुका ‘कमेडी ट्रेण्ड’ सिक्ने सुन्दर अवसर मिल्यो ।

परम्परागत कमेडीको बिरासतलाई सम्मान गर्न, समसामयीक शैलीबाट सिक्न र भविष्यको हास्यब्यङ्ग्य ‘फर्म्याट’लाई आत्मसात गर्न यो ‘प्लेटफर्म’ले ठूलो मद्धत गर्यो । परिकल्पनाकार विशाल भण्डारी लगायत सम्पूर्ण टीमप्रती आभार ब्यक्त गर्दछु । ‘जज प्यानल’मा रहनुभएका अग्रज सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मासँगको सहकार्य अविस्मरणीय, आत्मीय र अर्थपूर्ण रह्यो ।

कमेडी च्याम्पियनको मन्चकी मुटु रिमा बिश्वकर्मा, कलेजो मेक्सम गौडेल, फोक्सो केकी अधिकारी लगायत सिङ्गो च्याम्पियन शरीरसँग गहिरो सम्बन्ध स्थापित हुनपुग्यो । ‘जज प्यानल’मा रहेर नयाँ प्रतिभाहरुलाई जाँच्ने, तिनका क्षमतालाई पस्कने, हौसला दिने र समीक्षा गर्ने काम सहज थिएन । एकातिर ‘कन्टेन्ट’मा सामाजिक मुल्य र मान्यता, राष्ट्र र राष्ट्रियता र ब्यक्तीको आत्मसम्मानप्रती गम्भीर हुनुपर्दथ्यो ।

अर्कातिर मनोरन्जनको स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन पनि दिनु आवस्यक थियो । ‘निर्णायक’को कुर्सीमा बसेर हामीले त्यो जिम्मेवारी बहन गर्न सक्यौं या सकेनौं, त्यो आदरणीय दर्शकलाई छोड्न चाहन्छु । तर पनि हास्य ब्यङ्ग्य कलालाई मनोरन्जक, शिष्ट, सभ्य र समाजोपयोगी बनाउने हाम्रो प्रयास थियो, छ र रहनेछ ।

यद्यपी कमेडी च्याम्पियनको निर्णायकको भूमिका निभाउने क्रममा हामी (बिशेषत मबाट) थुप्रै कमी कमजोरी भए होलान्, मेरो वाणीबाट कसैको चित्त दुखाएँ होला । मेरो शैलीले कसैको भावनामा चोट पुग्यो होला । त्यो नियत नभएर मानवीय कमजोरी बुझी क्षमा दिनुहोला । समिक्षाका क्रममा प्रतियोगीलाई रुखो बोल्यौँ होला, त्यो तपाईंको प्रतिभा निखार्नको लागि थियो न कि निरुत्साहित पार्नका लागि !

कमेडीमा तपाईंहरु जति माथि पुग्नुभयो, हामी त्यति खुशी हुनेछौं । जति परिस्कृत कला पस्कनु भयो, हामीलाई त्यति नै गौरव महसुस हुनेछ । अन्त्यमा, भुलचुक लिने÷दिने ! हास्ने, हसाउने, प्रेरणा लिने र उत्प्रेरित गराउने अभियान जारी रहनेछ । अब केही फरक ‘खाना–खजाना’का साथ कहिँकतै भेट हुने नै छ । अहिलेलाई यति, बाँकी चाडैँ !

 

– गजुरियल डटकमबाट

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १०:०४