बाँके । बाँकेको कोहलपुर नगरपालिका–११, हरियाली मार्गमा निर्माण भइरहेको नाली दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयलाई सास्ती खेप्नुपरेको छ । नगर विकास समितिले निर्माण गरिरहेको नाला समयमै निर्माण नहुँदा अलपत्र परेको हो ।
पक्की नाला निर्माणका लागि दुई वर्षअघि धेरै क्षेत्रमा खनिएको थियो तर अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा हरियाली मार्गका स्थानीयले सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन् । नगर विकास समितिले आफैँ भत्काएको नाला समयमै नबनाउँदा स्थानीयले सास्ती खेपेको स्थानीय शान्ता गिरीले बताइन् ।
उनका अनुसार नाला निर्माण नहुँदा वर्षायाममा सडकको पानी घरभित्र छिर्ने गरेको छ । ‘हरियाली मार्गमा पहिले इँटाको नाला थियो, स्थानीयलाई कुनै समस्या थिएन,’ उनले भनिन्, ‘त्यतिबेला जाम हुने समस्या थिएन, आफैँ बगेर जान्थ्यो ।’ नगर विकास समितिले नै पक्की नाला बनाउने भनेर डोजरले भत्काएपछि झन् समस्या उत्पन्न भएको उनले बताइन् ।
अर्का स्थानीय तीर्थबहादुर बस्नेतले बर्सेनि व्यक्तिगत खर्चमा नाला सरसफाइ गरिरहेको जानकारी दिए । नालाको समस्या समाधानका लागि दुई पटकसम्म कार्यालयमा जाँदासमेत सुनुवाइ नभएको दुःखेसो गरे । पटक पटक स्थानीयले नगर विकास समितिलाई लिखित र मौखिक रूपमा अनुरोध गर्दै आएका छन् तर पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।
२०७६ सालमा नगर विकासले नालीसहित सडक कालोपत्रे गरेको स्थानीय माधव पौडेलको भनाइ छ । उनका अनुसार नाला निर्माण हुँदा घरहरू थिएनन् तर घरहरू निर्माण हुँदा नालामाथि राखिएका ढक्कनहरू दबिएका थिए ।
दबिएका नालालाई माथि उठाउनका लागि घरमुलीहरूले ढक्कन माथि उठाउन आग्रह गरिएको उनले बताए । नगर विकास समितिका इन्जिनियर विराट अर्यालले नाला निर्माण गर्न भदौ ८ गते ठेक्का भइसकेको बताए । उनका अनुसार अब असोज ७ गते मात्र ठेक्का खुल्ने तयारी छ ।
।