सूचनाको शक्ति - The Power Of Information

        

खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया । कोभिड–१९ का कारण गत चैत दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला भएको छ । निकुञ्ज प्रशासनले पर्यटकीय गतिविधिअन्तर्गत जङ्गल सफारी र जङ्गल वाक (पैदलयात्रा) का लागि मात्र निकुञ्ज खुला गरिएको जनाएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेश दिने निकुञ्ज प्रशासनले निर्णय गरेको छ । निकुञ्जका प्रवक्ता एवं संरक्षण अधिकृत असीम थापाले जङ्गल ड्राइभ, नदीमा ¥याफ्टिङ र जङ्गल वाक गर्न खुला गरिएको बताए । निषेधाज्ञा जारी भएसँगै बन्द भएको निकुञ्ज खुला गरिएको बताउँदै प्रवक्ता थापाले भने, ‘निकुञ्ज प्रवेशमा स्वास्थ्यसम्बन्धी नियम अनिवार्य पालना गर्नुपर्छ ।’

निकुञ्ज प्रवेश गर्दा पर्यटकले मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानुपर्ने नियम रहेको छ । संरक्षण अधिकृत थापाका अनुसार निकुञ्ज खुला भएपछि सडक मर्मत र झाडी सफाइ पनि सुरु गर्न कर्मचारी परिचालित गरिएको छ । शुक्रबार देखि निकुञ्ज खुला भएसँगै बर्दियाका पर्यटन व्यवसायी खुसी भएका छन् ।

निकुञ्जमा पर्यटक प्रवेशका लागि खुला गरिएपछि पर्यटक आउनेमा व्यवसायी आशावादी छन् । कोभिड महामारीका कारण सुनसान बनेको पर्यटन व्यवसाय फस्टिने आशा व्यवसायीको छ । बर्दिया गैँडाक्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले सामाजिक दूरी लगायतका स्वास्थ्य मापदण्ड पूरा गरी पूर्ण रूपमा सुरक्षित सेवा दिन तयार रहेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १७:५७