सूचनाको शक्ति - The Power Of Information

        

चिकित्सक अभावमा सेवा प्रभावित

सल्यान । सल्यान अस्पताल र लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् । सल्यान अस्पतालमा नर्सका लागि नौवटा दरबन्दी रहेकोमा दुई जना मात्र कार्यरत छन् ।

त्यसमा पनि एक जना अध्ययन बिदामा रहेको तथा सिनियर अनमी तीन जनाको दरबन्दी रहे तापनि हाल एक जना मात्र रहेको बताइएको छ । १५ शैय्याको जिल्ला अस्पताल र कोभिड अस्पतालमा सेवा प्रवाह गर्न कर्मचारीको अभाव भएपछि समस्या भएको छ । जिल्ला अस्पताल सल्यानका डा.प्रदीप शर्माले आवश्यकताअनुसार नर्स नहँुदा बिरामीलाई सेवा दिन समस्या भएको बताए ।

नर्स तारा शाहीले थोरै जनशक्तिले २४सै घण्टा सेवा दिन कठिन भएको बताइन् । अस्पतालमा दैनिक १२ जना प्रसूतिका लागि र जनरल वार्डमा पाँचदेखि १० जनासम्म बिरामी आउने गरेको शाहीले उल्लेख गरे । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले पछिल्लो समयमा कोभिड अस्पताल थपिँदा झनै समस्या भएको बताए ।

उनका अनुसार दरबन्दीका स्टाफ नहुँदा प्रसूति मात्र होइन अन्य सेवा प्रवाहमा समेत समस्या भएको छ । करारमा केही कर्मचारी राखिएको भए पनि जागिरको अनिश्चितता हुँदा करारमा बसेका नर्सहरू पनि तीन÷तीन महिनामा फेरिने गरेको अस्पतालका सिनियर नर्सहरूले बताएका छन् ।

यस्तै छत्रेश्वरी गाउँपालिका–४, लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र तीन वर्षदेखि डाक्टरविहीन छ । प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि अहेवको भरमा सञ्चालित छ । छत्रेश्वरी, दमाचौर, झिम्पे र शारदा नगरपालिका–१३, स्यानीखालका स्थानीयलाई उपचार सुविधा दिन लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो ।

उक्त स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा गएपछि तीन वर्षदेखि अहेवको भरमा सञ्चालन गरिएको स्थानीय शेरबहादुर बस्नेतले बताए । केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले स्वास्थ्य केन्द्रमा बल्लबल्ल १० वर्षपछि आएका डाक्टर पनि अध्ययन बिदामा गएपछि उपचारमा समस्या भएको बताए । डाक्टरसहित नौ जनाको दरबन्दी रहेको भए तापनि एचए र स्टाफ नर्सकै दरबन्दी पूर्ति हुन नसकेको इन्चार्ज वलीले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १७:५५