सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी

बझाङ । संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिनुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई कैद सजाय माफि गर्नु भएको हो ।

 

जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गते देखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए । उनलाई सर्बोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो ।

सबै गरी जप्रेलले ७ बर्ष ११ महिना ३ दिन जिल्ला कारागारमा रहेका थिए । बाँकी सजाय माफि गरिएको छ । मष्टा गाउँपालिका – ३ घर भएका रामचन्द्र खड्का पनि कर्तव्य ज्यान मुदामा २०७७ साउन ४ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

खड्कालाई जिल्ला अदालत बझाङ बाट २ बर्ष कैद सजाय तोकेकोमा १ बर्ष १ महिना १० दिन जिल्ला कारागार बझाङमा रहेका हुन् । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै बहुविवाहको मुदा लागेका केदारस्युँ गाउँपालिका – १ का शिवराज भण्डारी २०७७ साल कार्तिक २७ गते देखी जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए ।

जिल्ला अदालत बझाङले भण्डारीलाई १ बर्ष कैद सजाय सुनाएको थियो । भण्डारीले १० महिना ५ दिन जिल्ला कारागार बझाङमा रहेका थिए । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै बहुविवाहकै मुदा लागेका जयपृथ्वी नगरपालिका – ३ का राजेन्द्र खड्का २०७७ भदौ ९ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

जिल्ला अदालत बझाङले खड्कालाई २ बर्ष कैद सजाय सुनाएको थियो । खड्का १ बर्ष २३ दिन जिल्ला कारागार बझाङमा रहेका थिए । बाँकी सजाय माफी गरिएको छ ।

सर्बोच्च अदालत र जिल्ला अदालत बझाङबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद कट्टा गरी माफी मिनाहा गरेपछी आज ४ जना जिल्ला कारागार बझाङबाट छुटेका जिल्ला कारागार बझाङका जेलर धन बहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १७:३४