सूचनाको शक्ति - The Power Of Information

        

संविधान दिवस

संविधानको रक्षा गर्दै निर्दिष्ट गरिएको दिशामा अघि बढ्न ओलीको आह्वान

राष्ट्रिय दिवसका रूपमा मनाउन आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा गर्दै त्यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न आह्वान गरेका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश दिँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएका छन्।

‘कोभिड –१९ को महामारी र यसको सम्भावित तेस्रो लहरको खतरा कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै संविधान दिवसको महत्वपूर्ण अवसरलाई राष्ट्रिय दिवसका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान गर्दछु,’ उनले सन्देशमा भनेका छन्।

संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभइ लोकतन्त्रप्रतिको अविचल निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको ओलीको भनाइ छ।

संविधान जारी भएपछिको आम निर्वाचनद्वारा सरकारको नेतृत्व गर्ने जनादेश आफ्नो पार्टीलाई प्राप्त भएको भन्दै उनले यस दौरानमा संघीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हकसम्बन्धी कानूनहरुको निर्माण गरिएको बताएका छन्।

‘अहिले नेकपा ९एमाले०को भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिएको छ। तथापि हामीले निर्माण गरेको समृद्ध नेपाल सुखी नेपालीको आधारशीलामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई हामी सफल हुन दिने छैनौँ,’ ओलीले भनेका छन्।

मुलुकको समृद्धि र जनताको सुख प्राप्तिको राष्ट्रिय आकाङ्क्षामाथि संविधानको गलत व्याख्या गरी खडा गरिएको अवरोध र षड्यन्त्रलाई जनताको बलमा परास्त गर्न आफूहरु सक्षम रहेको उनले उल्लेख गरेका छन्।

ओलीले शुभकामना सन्देशमा आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय सहमतिद्वारा संविधान संशोधन गरी कालापानी–लिपुलेक–लिम्पियाधुरा सहितको भूगोल नेपालको मानचित्रमा समावेश गरेको बताएका छन्।

‘हामीलाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि गौरवपूर्ण यस राष्ट्रिय उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिलाई जनताले चिन्हित गरिरहेका छन्,’ उनले भनेका छन्।

नेकपा (एमाले) आफ्नो नेतृत्वको सरकारले राष्ट्रको समृद्धि र जनताको सुख हासिल गर्न गरेको नेतृत्वदायी भूमिका र सफलतालाई गर्वसाथ जनताको बीचमा राख्दै अघि बढ्न तत्पर रहेको ओलीको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार ०९:२४