सूचनाको शक्ति - The Power Of Information

        

संविधानमा सबैको समान पहुँच हुनुपर्ने राष्ट्रपति भण्डारीको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिइन्।

‘‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो,’’ सन्देशमा भनिएको छ, “जननिर्वाचित संविधान सभाद्वारा २०७२ साल असोज ३ गते जारी संविधान लोकतान्त्रिक प्रणाली स्थापना गर्ने मार्गदर्शन हो। ”

राष्ट्रपति भण्डारीले लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरिन्।

त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले असोज ३ गतेलाई इतिहासकै स्वर्णिम दिन भएको बताए। उनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध, २०६२र०६३ सालको ऐतिहासिक जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिए।

सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य–मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सन्देशमा उल्लेख गरे।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले शुभकामना व्यक्त गरे। उनले दिएको शुभकामनामा संविधानको उद्देश्य र भावनाअनुकूल जनहित र राष्ट्रहितमा कार्य हुन सकेमात्र संविधान जीवन्त दस्तावेज हुने बताए।

यसैगरी, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन नै संविधान भएको उल्लेख गर्दै यसको कार्यान्वयन र यसको पूर्ण पालनामा जोड दिइन्।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार ०८:२३