सुर्खेत । सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।
शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
पक्राउ पर्नेमा रास्कोट नगरपालिका-८, कालीकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका-६, दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका-१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।
बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्याउनमात्र आएको बताएको प्रहरी निरीक्षक शाहीले बताए । यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
।